site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको निर्देशन– शान्तिसुरक्षा मुलुकको पहिलो सर्त हो, कुनै सम्झौता नगर्नू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको बताएका छन् । शुक्रबार जनकपुरमा मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने बताए ।

उनले शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक र अनुशासितरूपमा काम गर्न निर्देशन दिए ।

Argakhachi Cement Island Ad

उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए । दश वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले सीमा नाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको बताए । यसलाई नियन्त्रणका लागि मिहिनेतका साथ लाग्नुपर्ने उनले बताए ।

उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने बताए । विपद् प्रतिकार्यमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्