site stats
बाह्रखरी :: Baahrakhari
खेल
कप्तान इन्दु भन्छिन्– ग्लोबल क्वालिफायरमा छनोट हुनु सानो कुरा होइन

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले आईसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनु सानो उपलब्धि नरहेको बताएकी छन् । 

नेपाली टिमले विश्वकपको एसिया छनोटबाट शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा स्थान बनाएको थियो । थाइल्यान्डमा भएको प्रतियोगितापछि बुधबार स्वदेश फर्किंदा कप्तान इन्दुले सञ्चारकर्मीसँग महिला टिमले यो नतिजा १८ वर्षदेखि पर्खिरहेको बताइन् ।

“हामीले १८ वर्षदेखि यो नतिजा पर्खिरहेका थियौँ । धेरै पुराना खेलाडीहरूले सन्न्यास समेत लिइसकेका छन् । यो जित उहाँहरू, नेपाली समर्थक र सबै नेपालीहरूका निम्ति हो । आगामी दिनमा पनि हामी यो भन्दा अझ राम्रो क्रिकेट खेल्नेछौँ,” उनले थपिन् ।

“ग्लोबल क्वालिफायर भनेको सानो कुरा होइन । यसका लागि हामी निकै खुसी छौँ । क्यानले दिएको एक्सपोजरअनुसार महिला टिमले नतिजा दिन सकिरहेको थिएन । नतिजा नआउँदा चित्त दुख्ने रहेछ ।”

नेपाली टिमले प्रतियोगिताको सुपर–३ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

सुपर–३ को अन्तिम खेलमा भने नेपाली टिम थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो । त्यसअघि, समूह चरणका चार खेलमध्ये नेपालले दुई खेलमा जित निकालेको थियो । यस्तै, एक खेलमा पराजित हुँदा एक खेल भने रद्द भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्