
काठमाडौं । ‘ग्वार्को फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेसँगै कालोपत्रेको तयारी गरिएको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो ।
“काम अन्तिम चरणमा पुगेको छ । अब पेन्टिङ, ट्राफिक साइन र कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्न मौसमले साथ दिनुपर्छ । मौसमले साथ दिए जेठ मसान्तभित्र ‘ग्वार्को फ्लाईओभर’माथि गाडी गुड्छन्,” भण्डारीले बाह्रखरीसित भने ।
रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा ०७८ फागुन १२ गते निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार ०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो ।
तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ । निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले ०८१ पुस ८ गतेसम्म म्याद थप गरेको थियो ।
निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलको ज्वाइन्ट ग्याप बढेको देखिएपछि बनिसकेको पर्खाल भत्काउनुपरेको थियो । त्यसपछि पुनः म्याद थप गरी वैशाखसम्म पुर्याइएको थियो ।
सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिँदै गएको छ । केन्द्रका अनुसार म्याद सकिएको पुस ८ गतेदेखि नै निर्माण कम्पनीले कुल बजेटको ०.०५ प्रतिशत हर्जाना तिर्दै काम गर्दै आएको छ ।
‘फ्लाईओभर’ निर्माणको को कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।
कम्पनीले निर्माण गर्नुपर्ने काम ३० मिटर लम्बाइ स्पानको चार लेन प्रिकास्ट ग्रिडर पुल निर्माण गर्नुपर्ने, एमएसई वाल भएको ५०० मिटर सडक कालोपत्रे अप्रोच सडक निर्माण गर्नुपर्नेछ ।
त्यस्तै, सडकमा कालोपत्रे १२ सेन्टिमिटर अलकत्रा हुनुपर्ने, १५ सेन्टिमिटर डीबीएम, ३० सेन्टिमिटर बेस, ३० सेन्टिमिटर सबबेस हुनुपर्ने, ट्राफिक लाइट जडान गर्नुपर्ने छ ।
निर्माणाधीन ‘फ्लाईओभर’को उचाइ ६ मिटर हुनेछ । बालकुमारीतर्फ २८० मिटर लामो ‘र्याम’ हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ‘र्याम’ हुनेछ ।
‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’को आवतजावत संरचना जम्मा लम्बाइ ४९० मिटर हुनेछ । बालकुमारी तर्फबाट ४ प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाईओभर’ पुगिनेछ ।
‘फ्लाईओभर’ सञ्चालनमा आएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् । त्यस्तै, चक्रपथतर्फ जाने सवारी साधन नरोकिई सिधै चल्नेछन् ।