site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद केसीको प्रश्न : १४५ मिलियनबाट २१६ मिलियन कसरी पुग्यो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले पोखरा विमानस्थलको लागत वृद्धिको स्पष्ट हिसाब माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन उपसमिति प्रतिवेदनमाथि छलफलका क्रममा उनले हिसाब मागेका हुन् । 

“१४५ मिलियनबाट लागत बढेर २१६ मिलियन डलर कसरी पुग्यो भन्ने कुरामा स्पष्टता आउनुपर्छ,” उनले भने, “यो प्रश्न महालेखा परीक्षक र सरकार दुवैले जवाफ दिनुपर्छ ।”

उनले प्रतिवेदनले उजागर गरेका विषयलाई गम्भीरताका साथ हेर्न आग्रह गर्दै छिने डाँडा कटानका लागि मात्रै ३३ करोड थप खर्च भएको विषयलाई उदाहरणका रूपमा उल्लेख गरे ।

सांसद केसीले पोखरामा इन्धन भण्डारणसम्बन्धी संरचना नेपाल आयल निगमले बनाएको भए र त्यसको खर्च विमानस्थल निर्माण लागतमा देखिएको भए, त्यो सिधा भ्रष्टाचारको संकेत भएको बताए । “त्यो खर्च देखिएको हो भने त्यो सिधै भ्रष्टाचार हो,” उनले भने ।

उनले आरोपित व्यक्तिहरूसँग लिखित वा मौखिक जवाफ मागिनुपर्ने मागसमेत गरे । “कसैलाई दाग लगाएर मात्र होइन, जवाफ माग्ने प्रक्रिया अघि बढ्नुपर्छ,” उनले भने ।

प्रतिवेदन निकै मिहिनेतपूर्वक तयार गरिएको भन्दै उनले उपसमिति र प्रतिवेदनप्रति धन्यवाद ज्ञापन गरे । साथै उनले निष्कर्षमा उल्लेख भएका मुद्दामा गम्भीरताका साथ अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्नेमा जोड दिए ।

“अब हामीले महालेखा, सरकार र अख्तियारलाई यो विषयमा जिम्मेवारीपूर्वक प्रश्न र निर्देशन दिनुपर्छ,” केसीले स्पष्ट पारे ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्