
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्ष रहेको गभर्नर सिफारिस समितिको बैठक मंगलबार (आज) दिउँसो ४ बजेलाई बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि सिफारिस समितिको बैठक डाकिएको हो ।
सोमबार मन्त्रिपरिषद्को बैठक थियो । गभर्नर सिफारिस समितिको बैठक नै नबसेपछि मन्त्रिपरिषद्को बैठक पनि स्थगित गरिएको थियो । ओली र देउवाबीचको छलफलपछि कांग्रेसलाई गभर्नर दिने सहमति छ ।
समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे छन् । पहिलेका दुई सदस्यले राजीनामा दिएपछि यी दुई सदस्य पछि हेरफेर गरिएको हो । यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरू दुवैजनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो ।
चैत २४ गते गभर्नरको कार्यकाल सकिएको छ । तर, साढे एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैैंक ऐनमा गभर्नरको पदावधि सकिनुभन्दा एक महिना अगाडि नियुक्त गरी सूचना जारी गर्नुपर्ने व्यवस्था छ ।