site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
न्यादी हाइड्रोपावरको सेयर बेच्न बीपीसीलाई सेबोनको रोक

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी)लाई न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर बिक्रीमा रोक लगाएको छ । 

बीपीसीका सञ्चालक न्यादी हाईड्रोपावरमा पनि सञ्चालक रहेको कारण देखाउँदै सेयर बिक्री गर्न नमिल्ने सेबोनले स्पष्ट पारेको छ ।
 
बीपीसीले न्यादीको सेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम (१क) विपरीत हुने सेबोनले स्पष्ट पारेको छ । 

सेबोनले कम्पनीको धारणासहित यथार्थ विवरण पेस गर्न र हाललाई उक्त सेयर बिक्री गर्ने कार्य स्थगन गर्न बीपीसीलाई निर्देशन दिएको छ ।

नयाँ आयोजनामा लगानी जुटाउन बीपीसीले न्यादीमा रहेको ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने योजना अघि सारेको थियो । न्यादीमा बीपीसीको एक करोड सात लाख ५१ हजार ४५३ कित्ता सेयर रहेको छ । सेयर बिक्रीबाट प्राप्त रकम तीन ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने योजना बीपीसीको थियो । सेयर बिक्री गर्न सेबोनले स्वीकृति नदिएपछि थप लगानी जुटाउन बीपीसीलाई चुनौती देखिएको छ । 

कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । न्यादी बीपीसीको सहायक कम्पनी हो ।
 
न्यादीमा बीपीसीको एक करोड नौ लाख ५० हजार कित्ता संस्थापक सेयर रहेको छ । ४० लाख ५० हजार कित्ता सर्वसाधारणको रहेको छ । 

न्यादीको एक करोड ५० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत छ । न्यादीको हाइड्रोपावरको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ छ । 

बीपीसीले तीन चिनियाँ कम्पनीको साझेदारीमा मस्र्याङ्दी बेसिनमा ६०१ मेगावाटका तीन ठूला अर्धजलाशय आयोजना बनाउन थालेको छ ।
 
बीपीसीले तीन ठूला आयोजना बनाउन एक अर्ब ३६ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यद्यपि, हकप्रद सेयर जारी गर्न बीपीसीले सेबोनबाट स्वीकृति पाउन बाँकी छ ।

तीन ठूला अर्धजलाशय (पीआरओआर) आयोजना बनाउन एक अर्ब २० करोड अमेरिकी डलर (करिब एक खर्ब ६२ अर्ब रुपैयाँ) लगानी हुने भएको छ । बीपीसीले चिनियाँ कम्पनीमार्फत बनाउन लागेको आयोजनामा ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२, १३९ मेगावाटको तल्लो मनाङमस्र्याङ्दी र १३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना हुन् ।

यसअघि बीपीसीले नयाँ आयोजना बनाउँन थप सार्वजनिक निष्कासन (एफपीओ) प्रक्रिया रद्द गरेर चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बीपीसीको चुक्ता पुँजी तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ छ । अब कम्पनीले हकप्रद सेयर जारी गरेर एक अर्ब ३६ करोड ३६ लाख रुपैयाँ उठाउने भएको छ । 

हकप्रदबाट संकलन हुने रकम कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनामा लगानी हुने भएको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर चार अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ ।

यसमध्ये १३५ मेगावाटको मनाङ–मस्र्याङ्दी क्यास्केड जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । चीनको निर्यात–आयात (एक्जिम) बैंकले ऋण आयोजनामा लगानी सम्झौता गरेको छ । बाँकी आयोजनालाई लगानी व्यवस्थापनको काम भइरहेको जानकारी बीपीसीले दिएको छ । 

 

तीन आयोजना बनाउँन एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट इन्भेस्टमेन्ट कम्पनी प्रालि स्थापना भएको छ । 

एससीआईजीमा बीपीसीको अतिरिक्त जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्यूआईईसी इन्टरनेसनल कम्पनी लिमिटेड र एससीआईजी इन्टरनेसनल लिमिटेडको लगानी रहनेछ ।

एससीआईजीमा बीपीसीको २० प्रतिशत र बाँकी चिनियाँको स्वामित्व छ । जसअनुसार सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । 

एक अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा स्वपुँजी (इक्विटी) लगानी छ ।

माथिल्लो मस्र्याङ्दी–२ र तल्लो मनाङ मस्र्याङ्दी आयोजनाको सरकार र एससीआईजीबीच आयोजना विकास सम्झौता (पीडीए) को तयारीमा छ । 

नेपाल विद्युत् प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) र ऊर्जा मन्त्रालयसँग आयोजना विकास सम्झौता (पीडीए) भएपछि आयोजना बनाउन लगानी जुट्नेछ । १३५ मेगावाटको आयोजनामा चाइना एक्जिम बैंकको ऋण लगानी हुनेछ ।
 
अहिले बीपीसीले १७४ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत्  आयोजनाको सम्भाव्यताको अध्ययन सकिएको बीपीसीले जनाएको छ ।

बीपीसीले नेपालमा एक हजार मेगावाट बिजुली उत्पादन गर्न दुई खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन सन् २०१८ मा तीन चिनियाँ कम्पनीहरूसँग सम्झौता गरेको थियो ।
  
बीपीसीले १२ मेगावाटको झिम्रुक, ९.२ मेगावाटको आँधिखोला र ४ मेगावाटको खुदी आयोजना सञ्चालन गरिरहेको छ ।
 
बीपीसीको ६० मेगावाटको माथिल्लो खिम्ती आयोजनामा १७ प्रतिशत लगानी रहेको छ । खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावर लिमिटेडले विद्युत् प्राधिकरणसँग गरेको डलर पीपीए अवधी तीन वर्षअघि सकिएको छ । 

हिमाल पावरबाट प्राप्त हुने ठूलो रकम लांभास अहिले रोकिएको छ । हिमाल पावरबाट बीपीसीले वर्सेनि ५० देखि ६० करोड रुपैयाँ नगद लाभांंश पाउँदै आएको थियो । प्राधिकरणले अन्तरिम पीपीए भन्दै हिमाल पावरलाई प्रतियुनिट दुई रुपैयाँ भुक्तानी दिँदै आएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्