
काठमाडौं । प्रतिनिधिसभाका तीन सांसद निलम्बित भएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार दायर भएसँगै निलम्बित सांसदको संख्या तीन पुगेको हो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिहीबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
जसको पद निलम्बनमा छ
यसअघि चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद रवि लामिछानेको पद निलम्बनमा परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने सहकारीको बचत रकम हिनामिना प्रकरणमा निलम्बनमा परेका छन् ।
०८१ पुस ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोग दर्ता भएको थियो । उनको पद निलम्बनमा परेको सूचना गत पुस ८ गते संसद् सचिवालयले जारी गरेको थियो ।
नेकपा (एमाले)का सचिव समेत रहेका टोपबहादुर रायमाझीको सांसद पद २२ महिनाअघि निलम्बनमा परेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणपछि ०८० असार १ गते उनी निलम्बनमा परेका थिए । उनी अर्घखाँचीबाट निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सांसद पक्राउसम्बन्धी व्यवस्था छ । प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पूर्पक्षका लागि थुनामा रहे सांसद पद निलम्बन हुने उल्लेख छ ।
“प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ,” २४८ को उपदफा ३ मा भनिएको छ ।
जो निलम्बनमा परेका थिए
०७९ को निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी ०८० वैशाख १९ मा निलम्बनमा परेका थिए । ०८० पुस ८ गते उनको निलम्बन फुकुवा भयो ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ पनि निलम्बनमा परेका थिए । मनाङबाट निर्वाचित गुरुङको निलम्बन २०८१ वैशाख १२ गते फुकुवा भएको थियो ।