site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल लाइफले खोल्यो पाँच अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बिमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष संघईले नेपाल लाइफले २५औँ वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताए ।

Argakhachi Cement Island Ad

नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमाको माध्यमबाट महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनीकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए ।

नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बिमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले उक्त प्रयासलाई बिमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बिमा कोषको सही संरक्षण र सदुपयोग बिमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे ।

“मिहिनेत, पसिना बगाएर वा व्यापार व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बिमा कोषमा जम्मा हुन्छ । त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो,” उनले भने । उनले एकै ठाउँमा पुँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधिकरण अपरिहार्य भएको बताए ।

नेपाल लाइफले हालसम्म दुई खर्ब २५ अर्ब रुपैयाँको जीवन बिमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बिमित र एक लाख ८६ हजार लगानीकर्ता रहेका छन् । कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बिमा कोष पाँच खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ ।

उक्त लक्ष्य हासिल गर्न र बिमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको उनले बताए । “बिमा अब केवल सुरक्षा मात्रै नभई लगानीको प्रतिफल दिने माध्यम पनि बनेको छ । बिमितलाई दीर्घकालीन उच्च प्रतिफल दिने लक्ष्यसहित हामीले यो कम्पनी खोल्न लागेको हौँ,” उनले भने ।  

नेपाल लाइफको मुख्य उद्देश्य बिमा सेवा प्रदान गर्नु हो भने, उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको उनको भनाइ छ । नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्