
सिड्नी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नागरिकता बोकेर स्वदेश पुग्ने प्रवासी नेपालीले विमानस्थलमा डलर तिरेर प्रवेशाज्ञा लिनुपर्ने विषय दुर्भाग्यपूर्ण रहेको बताएकी छिन् । पारिवारिक भ्रमणमा सिड्नी आइपुगेकी काग्रेस नेतृ संग्रौलाले नेपाली जनसम्पर्क समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
उनले ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यका साथ दोहोरो नागरिकताको व्यवस्था गरिएको बताइन् । तर, कार्यविधि र निर्देशिकाको अभावमा विदेशमा बसेका नेपाली नेपाली नागरिकता बोकेर पनि विदेशी बन्न बाध्य भएको उल्लेख गरिन् ।
आफू प्रतिनिधिसभा सदस्य भएकै बेला गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा लामो छलफल र बहसपछि नीतिगत निर्णय भएको उनले जानकारी दिइन् । तर, त्यसले पूर्णता नपाउँदा कागजमा नेपाली भए पनि व्यवहारमा भने विदेशीझैँ बन्नुपरेको वास्तविकता आफूले देखेको संग्रौलाको भनाइ थियो ।
मुलुक दुख्दा जुरुक्कै उठ्ने गैरआवासीय नेपालीहरूलाई राज्यले महत्त्वका साथ हेर्नुपर्नेमा सानातिना कार्यविधि र निर्देशिकाका कारण झन्झटिलो प्रक्रियामा अल्झाउँदा लगानीका अवसर पनि खेर गइरहेको संग्रौलाले स्मरण गराइन् ।
मुलुक यतिबेला आर्थिक संकटसँग जुधिरहेको अवस्थामा विदेशमा बस्ने नेपालीहरूलाई स्वदेशमा लगानी भित्र्याउन आह्वान गर्नुपर्ने भन्दै उनले सानातिना विषयमा अल्झाउँदा नकरात्मक असर परिरहेको बताइन् ।
सरकारले सुशासनको अनुभूति दिन नसकेको उनको आरोप छ । विचार र आस्थाकेन्द्रित नेपाली राजनीतिले अब विकास र निकासको बाटो खोज्नुपर्ने बेला आएको उनको ठहर छ । शिक्षा विधेयक नआउँदा शिक्षकहरू सडकमा उत्रनुपर्ने अवस्था आएको र विश्वविद्यालयभित्र राजनीतिकरणले मुलुकको समग्र शिक्षा जगत् नै बिथोलिएको उनको भनाइ छ ।
संग्रौलाले भनिन्, “अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रजस्तो सुन्दर व्यवस्थामाथि नै प्रश्नचिह्न उठ्न थालेकोमा सबै चिन्तित हुनुपर्ने बेला आएको छ ।”
कार्यक्रमको सुरुवातमा जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष राजेश केसी र सहमहामन्त्री रोहित खड्काले कांग्रेस नेतृ संग्रौलालाई खादा माला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा, नेपाल अस्ट्रेलिया डेमोक्र्याटिक फोरमका अध्यक्ष ज्ञानेन्द्र रेग्मी, नेपाली विद्यार्थी संघका सुनिल विष्ट, ग्रानभिल समाजका अध्यक्ष भीम बस्नेत, लोकतान्त्रिक खेलकुद संघका वसन्त अर्याललगायत वक्ताले नेपाली आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।