
काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण नेपाल आउने र जाने उडान प्रभावित हुन थालेका छन् । गत बुधबार (वैशाख २४ गते) बिहान भारतले हवाई आक्रमणपछि दुई देशबीच तनाव सुरु भएको थियो । दुई देशबीचको तनावका कारण नेपाल आउने र यहाँबाट विदेशिने जहाजमा अतिरिक्त समय र भार थपिएका छन् ।
यसले उडान तालिका प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विशेष गरी, मध्यपूर्व र युरोपको जहाज एक घण्टा ढिलो भइरहेको कार्यालयले जनाएको छ ।
“मध्यपूर्व र युरोपबाट आउने जहाज एक घण्टा डिले भइरहेको छ,” उनले भने, “भाडादरमा ठ्याक्कै परिवर्तन देखिएको छैन ।”
अहिले पाकिस्तान हुँदै आउने जहाजले त्यहाँको आकाश प्रयोग गरेका छैनन् । यसले गर्दा एक घण्टा ढिला भएको निरौला बताउँछन् ।
“पाकिस्तानको आकाश प्रयोग गर्न नपाएपछि घुमेर भारतको क्षेत्र हुँदै आउनुपरेको छ,” उनले भने, “युरोप तथा मध्यपूर्वबाट आउने उडान समस्या परेका छन् ।”
युरोप तथा मध्यपूर्वबाट नेपाल आउने र जान गरी करिब १५ जहाजको उडान समय लम्बिएको निरौलाले बताए ।
मध्यपूर्वबाट कतार एयरवेज, फ्लाई दुबई, जजिरा र कुवेत एयरवेज एयर अरेबियालगायत विमानले नेपाल उडान गरिरहेका छन् ।
तनावअघि इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुटमार्फत उडान गर्न छोटो रुट हुन्थ्यो । पाकिस्तान र भारतबीचको तनावपछि हाल कतारबाट दुबई, ओमन हुँदै अरबियन सागर, मुम्बई हुँदै नेपाल भित्रिने र बाहिरिने गर्न थालेका छन् ।
नेपालबाट बाहिरिन सिमरा हुँदै भारतको लखनऊ, मुम्बई हुँदै अरेबियन सागरतर्फ मोडिने गरेको महाप्रबन्धक निरौलाले जनाए ।
उडान समय लम्बिए पनि भाडादरमा हालसम्म परिवर्तन नभएको निरौलाले बताए । “युद्ध भर्खरै सुरु भएका कारण भाडादरमा परिवर्तन भएको भन्ने सूचना पाएको छैन,” उनले भने ।