
काठमाडौं । भारतले अन्तर्राष्ट्रिय सीमाभन्दा बाहिर आफ्नो देशका नदीको पानी बग्न रोक्ने घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतको पानी भारतकै फाइदाका लागि बग्ने बताएका छन् ।
“अब, भारतको पानी भारतको फाइदाका लागि बग्नेछ, यसलाई भारतको हितमा संरक्षण गरिनेछ र भारतको प्रगतिका लागि प्रयोग हुनेछ,” मोदीले भनेका छन् ।
मोदीले सिन्धुको पानीलाई कसरी प्रयोग गर्ने भन्ने विस्तृत योजना सार्वजनिक गरेका छैनन् । विज्ञहरूले भारतले यसलाई सञ्चित गर्न थप बाँध, जलाशय र ताल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । तर, यो काम लामो समय लाग्ने बताइएको छ ।
मोदीले पाकिस्तानको नाम उल्लेख नगरे पनि यो टिप्पणी भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो पानी साझेदारी सन्धि निलम्बन गरेको दुई हप्तापछि आएको हो ।
गत महिना भारतको कश्मीरमा पर्यटकमाथि भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध तीव्ररूपमा बिग्रिएको छ । भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । भारतीय आरोपलाई पाकिस्तानले पूर्णरूपमा खण्डन गरेको छ ।
भारतबाट पाकिस्तानतर्फ धेरै नदी बग्छन्, जसले पाकिस्तानका लगभग ८० प्रतिशत कृषि क्षेत्रलाई सिँचाइ सुविधा प्रदान गर्छ ।
सन् १९६० को सिन्धु पानी सम्झौताले भारत र पाकिस्तानबीच सिन्धु उपत्यकाका ६ नदीको पानी बाँडफाँट नियमन गर्छ ।
कश्मीरमा पर्यटकमाथि भएको हमलापछि भारतले सन्धि निलम्बन गरेको थियो । यस हमलामा २६ नागरिकको मृत्यु भएको थियो ।
बीबीसीबाट ।