site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु खुसीको विषय : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनका साथै स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनकै लागि भएको उनले बताए । राष्ट्रपति पौडेलले देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुसीको विषय भएको धारणा राखे । 

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएकाले यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्ने उल्लेख गरे । 

उनले यस प्रतिष्ठानले आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा प्रा.डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्