
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले विपक्षीमाथिको ‘राजनीतिक प्रतिशोध’ नरोकिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । मंगलबार (वैशाख २३) प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टी सभापति रवि लामिछाने र नेता रेशम चौधरीप्रति गरिएको व्यवहार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागिएको घटना नियोजित राजनीतिक प्रतिशोधको शृंखला भएको टिप्पणी गरे । पछिल्लो समयका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भीर भएर हेरिरहेको सांसद झाको भनाइ थियो ।
“हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो । माधवकुमार नेपालज्यूको पनि बयान लिइँदै छ भन्ने सुन्दै छौँ । अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ! त्यसैलाई यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेका छौँ,” उनले भने ।
उनले जानकी जयन्तीका अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति जनाए । न्युज एजेन्सी नेपाल