
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
वर्तमान सरकारले हालको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुचि नदेखाएको उनको आरोप छ । सरकारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताए ।
उनले सरकार परिणामविहीन मात्र नभइ उद्देश्यविहीन हुन पुगेको जिकिर गरे । सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरू मिलेसम्म कुनै विकल्प नहुने बताए ।
“सरकार फेरबदल भन्दा पनि परम्परा धान्ने गरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रस्तुत गरिएको छ । विगतमा जसरी सरकार परिणामविहीन थियो, अब उद्देश्यविहीन पनि भएको अवस्था छ,” उनले भने, “यो सरकारको विकल्प त खोज्नुपर्छ । तर विकल्प खोजेर पार लाग्दैन । किनभने दुईवटा पार्टी मिलेर सरकार बनेको छ । दुईवटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन ।”
उनले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए ।