
काठमाडौं । दक्षिण टेक्सासको सानो गाउँ बोका चिकालाई शनिबार भएको ऐतिहासिक मतदानमार्फत ‘स्टारबेस’ नामकरण गरिएको छ । नाम फेर्न गरिएको मतदानमा २१२ जना बासिन्दाले समर्थन र ६ जनाले विरोध गरेपछि बहुमतका आधारमा स्टारबेस सहरको रूपमा नयाँ नगरपालिकाको मान्यता दिइएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
लगभग १.४५ वर्ग माइल क्षेत्रफल रहेको त्यो क्षेत्र सन् २०११ देखि अमेरिकी अर्बपति व्यापारी एलन मस्कको स्पेसएक्सको स्टारसिप रकेट कार्यक्रमको प्रक्षेपणस्थल रहेको छ । यसले एलन मस्कको रकेट कम्पनी वरिपरि नयाँ समुदाय निर्माण गर्ने दीर्घकालीन लक्ष्यमा ठूलो कोसेढुंगा सावित भएको समाचारमा बताइएको छ ।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा यसलाई टेक्सासको स्टारबेस अब वास्तविक सहर बनेको बताए । यसपछि यो क्षेत्रलाई छुट्टै स्थानीय सरकार, मेयर, उपमेयर बन्न मार्गप्रशस्त गर्दछ ।
स्पेसएक्सको क्षेत्रमा बढ्दो प्रभाव
स्पेसएक्सको वरिपरि सहर बनाउने विचार सन् २०२१ मा सुरु भएको थियो । त्यसबेला मस्कले यस क्षेत्रलाई स्टारबेस नामकरण गर्ने सुझाव दिएका थिए । लामो समयपछि यसले गति लियो । यो क्षेत्रका २८३ जना मतदातामध्ये लगभग सबै स्पेसएक्ससँग जोडिएका छन् र अग्रीम मतदानले सो प्रस्तावमा ठूलो समर्थन जुटेको थियो ।