site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायती युवराज ह्यारीले भने– राजपरिवारसँग मेलमिलाप गर्न चाहन्छु 

काठमाडौं । बेलायती युवराज ह्यारी (ड्युक अफ ससेक्स)ले राजपरिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले बेलायतमा आफ्नो सुरक्षा सम्बन्धी विषयमा दिएको कानुनी चुनौती अदालतबाट हारेपछि आफू अत्यन्त दुखी भएको बताए ।

सुरक्षा सम्बन्धी विषयले वेलायतका राजा चार्ल्सले पनि उनीसँग बोलचाल बन्द गरेको युवराज ह्यारीले बताए । तर, बुबा (राजा चार्ल्स)को जीवन धेरै लामो नभएकाले अब कुनै झगडा गर्न नचाहेको उनले बताएका छन् ।

उनले बेलायतमा आफू र परिवारको सुरक्षा सम्बन्धी पुनरावेदन हारेपछि क्यालिफोर्नियाबाट बीबीसी न्यूजलाई यो बताएको हुन् ।

तर, बकिंघम प्यालेसले सबै विषयहरूमा अदालतद्वारा बारम्बार र जाँचिएको र प्रत्येकपटक एउटै निष्कर्ष निस्किएको प्रतिक्रिया दिएको छ ।

“अहिले म आफ्नी पत्नी र बच्चाहरूलाई बेलायत फर्काउनेबारे सोच्न सक्दिनँ,” शुक्रबारको अदालती फैसलापछि युवराज ह्यारीले भने, “म र मेरो परिवारका केही सदस्यबीच धेरै झगडा भयो । तर, अब मैले उनीहरूलाई माफ गरिसकेको छु ।” 

आफू फेरि परिवारसँग मिल्न चाहेको उनले बताएका छन् । “म परिवारसँग फेरि मिल्न चाहन्छु । अब लडाइँ जारी राख्नु बेकार छ । जीवन नै धेरै मूल्यवान छ,” उनले  भने । सुरक्षा विवाद नै सधैँ मुख्य समस्या रहेको उनले बताए । 

सन् २०२० मा सक्रिय राजपरिवारको सदस्यताको पदबाट हटेर अमेरिका बसाइँसराइ गर्दा लागु गरिएको उनको सुरक्षा व्यवस्थामा गरिएको परिवर्तन उल्टाउन चाहेका थिए ।

उनले आफूलाई धोका दिइएको महसुस गरेको बताउँदै अदालती हारलाई पुरानो ढाँचाको षड्यन्त्र भएको चित्रण गरे । उनले आफ्नो सुरक्षा कटौती गर्ने निर्णयमा राजपरिवारले प्रभाव पारेको आरोप लगाए ।

सुरक्षा विवादमा राज चार्ल्सले हस्तक्षेप गर्नुपर्छ कि भनेर सोधिएको प्रश्नमा युवराज ह्यारीले भने, “मैले उहाँलाई हस्तक्षेप गर्न भनेको छैन, बाटो छोड्न र विज्ञहरूलाई आफ्नो काम गर्न दिन अनुरोध गरेको हुँ ।” 

अदालतको फैसलाको प्रतिक्रियामा उनले भने, “म अत्यन्त मर्माहत  भएको छु । अदालतबाट हारभन्दा पनि यसको पछाडि रहेका व्यक्तिहरूले यो ठीक छ भन्ने सोचेकाले मलाई धेरै पीडा दिएको छ । के यो उनीहरूको जित हो ?” 

आफूलाई सिध्याउन चाहने केही व्यक्तिहरूले यसलाई ठूलो विजयको रूपमा लिइरहेको उनले टिप्पणी गरे । 

युवराज ह्यारीले सुरक्षा अधिकार हटाइएको निर्णयले उनलाई हरेक दिन प्रभाव पारेको बताए । सुरक्षाका कारण अहिले उनी बेलायतमा राजपरिवारले निम्तो गरेमा मात्र सुरक्षित रूपमा फर्कन सक्ने उनले स्पष्ट गरे । राजपरिवारले बोलाएको अवस्थामा मात्र उनलाई पर्याप्त सुरक्षा प्राप्त हुने उनको भनाइ छ । बीबीसी
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्