-1746232095.jpg)
नित्य अनि अनित्य । यहाँ केही छैन, जे सदाको छ । जे सदाकालको छ । यहाँ कोही छैन, जो सदाको छ । सदाकालको छ । समय आयो अनि गयो । राम गयो रावण गयो ।
अनित्यता अर्थात् जीवन । अनित्यता अर्थात् ज्ञान । अनित्यता अर्थात् सम्पूर्णता । अनित्यता अर्थात् समझ ।
हरेक कुरा आज जे छ, त्यो भोलि रहने छैन । हरेक मनुष्य जो आज छ, ऊ भोलि रहने छैन । अनित्यता शाश्वत गाथा हो । अनित्यता अविरल गान हो ।
हुनु अथवा रहनु के हो ? नहुनु अथवा नरहनु के हो ?
ज्ञान के हो ? अज्ञान के हो ?
हरनिमेष परिवर्तनकारी छ । हरक्षण भिन्न छ । भिन्नता अथवा परिर्वतन प्रकृतिको धर्म हो । यो नै प्रकृतिको गतिशीलता हो ।
अनित्यता सूक्ष्मता हो । अनित्यता अवश्यम्भावी हो ।
एउटा कथा सुरु हुन्छ । चल्छ । अनि सकिन्छ ।
एउटा गीत सुरु हुन्छ । बग्छ । अनि सकिन्छ ।
एउटा नाटक सुरु हुन्छ । कुद्छ । अनि सकिन्छ ।
त्यसैगरी, एउटा सृष्टि सुरु हुन्छ । अनि...?
जब जन्म हुन्छ, तत्क्षण त्यससँगै मृत्युको सम्बन्ध पनि गाँसिएर आउँछ । अर्थात्, जन्म र मृत्य सँगसँगै परस्परमा छ । जन्मको लक्ष्य नै मृत्यु हो । त्यो लक्ष्य जुन हासिल गर्नका निम्ति मनुष्य जीवनपर्यन्त लागिरहन्छ (सांसारिक कुरुक्षेत्रको युद्धमा) ।
आखिर जीवन केका निम्ति ? जीवनको लक्ष्य के हो ? जीवनको वास्तविकता के हो ? अनि, जीवनको वास्तविक लक्ष्य भन्नु के हो ?
हामी नित्य हिँडिरहेका छौँ । परन्तु, हामीलाई यो कुराको आभास अलिकति पनि छैन कि हामी हिँड्नचाहिँ कहाँ हिँडिरहेका छौँ ? किन हिँडिरहेका छौँ ?
हिँडिरहेका छौँ या हरघडी तड्पिरहेका छौँ ? या जीवनको एकएक क्षण मृत्युसरह छ ? (डरलाग्दो ?)
ज्ञात रहोस्, हरघडी अन्तिम घडी ।
जीवन के हो ? अनि, मृत्यु के हो ? अनि, जीवन र मृत्युको ज्ञान के हो ?
क्षणभंगुरता । क्षणभंगुरता अर्थात् जीवन । जुन कुराको ज्ञान जीवनको वास्तविक ज्ञान हो ।
जब यो कुराको समझ राम्ररी हुन्छ कि यो सृष्टि क्षणभंगुर छ, यहाँका हरेक चिज क्षणभंगुर छन्, अनि हामी सबै मनुष्य क्षणभंगुर छौँ, तब जीवन बाँच्न सजिलो हुन्छ ।
त्यो बेला डरसहितको जीवन रहँदैन । बरु, निर्भय जीवन हुन्छ । निर्भय जीवन – त्यो जीवन जुन जीवन वास्तवमा जीवन हो, जहाँ एकएक पल मृत्युसँग भय हुँदैन ।
सुख के हो ? दुःख के हो ? मात्र एक स्थिति । त्यस्तो स्थिति जसलाई जस्तो बनाउन खोजौँ, त्यस्तै बन्छ । कति मनुष्य छन् जो दुःखमा पनि खुसी छन् । परन्तु, कति यस्ता पनि छन् जसको सम्पन्न अनि सुखको जीवन आँसु अनि मात्र आँसुले भरिएको छ ।
राजदरबार छाडेर सिद्धार्थ गौतम यो बाह्य संसारबाट बाहिर निस्किनु सुख थियो या दुःख ? अन्तर्आत्माको दीपक जगाएर गौतम बुद्ध बन्नु सुख थियो या दुःख ? मुख्य कुरा उद्देश्य हो । प्राप्ति हो । निर्वाणको प्राप्ति त्यति सजिलो कुरा निश्चय पनि होइन ।
एकदिन यो सृष्टि नै सकिनु छ त, हामी आखिर के नै हौँ र ? बेहदको ढोका खुल्यो, अनि आत्मा बेहदको यात्रामा निस्कियो ।
राम गयो, रावण गयो । उनीहरूका परिवार गए । आउनेहरू सबैसबै गए । कोही पनि यहाँ सदाकालका निम्ति रहेनन् । कथा सकियो, फूलको माला लगाइयो ।
राम गयो, रावण गयो, जाको बहुपरिवार ।
(इटहरी)