site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय हक्की प्रतियोगिता : महिलातर्फ गण्डकीको दोस्रो जित

काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय हक्की प्रतियोगितामा महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फको खेलमा गण्डकीले मधेस प्रदेशलाई २–१ ले हराएको हो ।

गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेसकी गीताकुमारी मिर्निनचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् । राउन्ड रोबिन लिगको आधारमा भैरहेको महिलातर्फको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो ।

Argakhachi Cement Island Ad

महिलामा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेश गरी चार टोलीले मात्र प्रतिस्पर्धा गरिरहेका छन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पहिलो खेलमा गण्डकीले वाग्मती प्रदेशलाई २–१ गोलले हराएको थियो । मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो ।

शुक्रबार नै पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को जित निकालेको हो । आर्मीको जितमा मनोज चौधरी ह्याट्रिक पूरा गरे । राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशीराज राईले समान एक गोल गरे ।

आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना गर्‍यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेसले भने कोसीसँग हार सामना गरेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोसी प्रदेश छन् ।

शुक्रबार नै भएको समूह ‘बी’ को खेलमा कर्णालीले वाग्मती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए । वागमतीका समीर घिमिरेले एक गोल गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्