site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ममाथि चौतर्फी आक्रमण हुँदै छ, तर विचलित हुने छैन : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताएकी छन् । नेकपा (एमाले)ले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको 'युथ सेलेब्रेसन'मा डंगोलले जतिसुकै आक्रमण भए पनि नथाक्ने बताइन् ।

“अहिलको समयमा चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौँ । जतिसुकै आक्रमण भए पनि विचलित हुने छैनौँ । राष्ट्र निर्माणका लागि एकजुट भएर निरन्तर अघि बढिरहेनै छौँ, हामी थाक्ने छैनौँ, रोकिने छैनौँ,” उनले भनिन् । 

उनले आफू उपमेयरमा निर्वाचित भएपछि इमान्दारितापूर्वक काम गरेकाले चौतर्फी प्रशंसा हुन थालेको पनि सुनाइन् । “मैले एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भएँ । कुनै पनि दिन, बार, समय नभनी आफ्नो जिम्मेवारी, कर्तव्यमा निष्ठावान भएर, सदैव इमान्दार भएर जनताप्रति काम गरिरहेँ । जनताको माझ नै उभिएर काम गरेँ । बफादार भएर काम गरेँ । त्यसकारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो । आफूले गरेको कामको सकारात्मक प्रभाव देख्न थालेँ,” उनले भनिन् ।

तर, काम गरेको देख्न नचाहनेले आफूमाथि आक्रमण सुरु गरेको उनको दाबी छ । “राष्ट्र निर्माण भएको देख्न नचाहनेहरू, काम गरेको देख्नेहरूको देख्दा भतभती पोल्नेहरूका लागि मेरो कामले पोल्न थाल्यो । चौतर्फी आक्रमण गरेको मैले महसुस गर्न थालेँ,” उनी भन्छिन् ।

उनले अन्तर्राष्ट्रियरूपमा पनि काठमाडौंको राम्रो अभ्यासको अनुभव साट्न निमन्त्रणा गरेको बताइन् । आफूले विभिन्न ठाउँमा गएर अनुभव साट्दा र सिक्दा धेरैलाई पोलेर आफूमाथि आक्रमण गरेको उनको भनाइ छ ।

“जथाभाबी बोल्नेलाई छेकेन, जाथभाबी छेक्नेलाई छेकेन । आक्रमण गर्ने व्यक्तिहरू राष्ट्र विरोधी हुन्, राष्ट्र विरोधी तत्त्व सल्बलाइरहेका छन्,” उनले भनिन् ।

उनले 'योङ ग्लोबल लिडर' बनेर देशको शीर उँचो बनाउन आफू सफल भएको बताइन् ।

उपमेयर डंगोलले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रवादी भएर काम गरिरहेकाले उनीमाथि पनि आक्रमण भइरहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्