
काठमाडौं । नेपालमा पछिल्लो समय विश्व चर्चित ब्रान्डहरूले तीव्र बजार विस्तार गरिरहेका छन् भने कतिपयले आफ्नै एसेम्बल प्लान्ट स्थापना गर्दैछन् । त्यसमध्ये एक हो कोरियन कम्पनी हुन्डाई ।
गत वर्षमात्रै हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्यो ।
नवलपरासीको रामग्राममा अत्यधुनिक एसेम्बल प्लान्ट स्थापना गरेको कम्पनीले नेपाली बजारमा अत्यधिक रूचाइएका क्रेटा, भेन्यूलगायतका गाडी उत्पादन थालेको छ ।
१० बिघामा फैलिएको प्लान्टमा पूर्ण रूपमा विभाजित (कम्प्लिट नक डाउन –सिकेडी) युनिटमा पार्टपुर्जा ल्याएर एसेम्बल गर्ने गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया बताउँछन् ।
नेपालमा एसेम्बल प्लान्ट राखेपछि सवारी साधनको मूल्यमा पनि कमी आएको उनी बताउँछन् ।
“मेड इन नेपाल पश्चात मूल्यमा ८–१० लाखको फरक परेको छ,” उनले भने, “फिचरहरूमा कुनै कमी छैन र मूल्य कम परेपछि ग्राहकहरू उत्साहित हुनुभएको छ ।”
सन् १९६७ मा कोरियामा स्थापना भएको कम्पनीको विश्व बजारसहित नेपालमा पनि बलियो उपस्थिति छ । कम्पनीले विश्व बजारमा सार्वजनिक भएका सवारी साधन नेपालमा पनि ल्याउने गरेको छ ।
“हुन्डाई लाइफ साइकल प्रत्येक तीन वर्षमा नयाँ प्रोडक्ट सार्वजनिक गर्ने र पाँचवर्षमा तयार पर्ने गरेको छ,” महाप्रबन्धक थपलिया भन्छन्, “हामीले भर्खरै क्रेटा आइस ल्याएका छौँ । क्रेटा ईभी पनि नेपाली बजारमा भित्र्याएका छौं ।”
हुन्डाईले अटो क्षेत्र र यसका ग्राहकहरूको हितमा कसरी राम्रो गर्न सकिन्छ भनेर विश्वबजारमा हेर्ने गरेको कम्पनीको भनाइ छ ।
“हुन्डाईको कुरा गर्दा विश्व बजारका धेरै देशहरूमा एसेम्बल प्लान्ट राखेको छ,” उनी भन्छन्, “नेपालको सन्दर्भमा पनि सुरू गरेपछि त्यसले मूल्यमा कमी, रोजगारीको अवसर धेरै कुराहरूमा फरक पार्छ ।”
हुन्डाईमा एसेम्बल हुने सवारी साधनको स्ट्यान्डर्ड पनि हुन्डाईकै हुनुपर्छ । कम्पनीले सेट गरेको मापदण्ड बाहिर जान पाइँदैन । “यहाँ एसेम्बल हुने गाडीहरूको मापदण्ड कोरियामा बन्ने जे हो, त्यो नै हुन्छ,” थपलिया भन्छन् ।
हुन्डाईले एसेम्बल प्लान्ट राखेपछि त्यसले केही हदसम्म विदेशिने दक्ष जनशक्ति रोक्न सकिएको थपलिया बताउँछन् ।
“वर्षको ६ लाख जनशक्ति विदेशिएको छ । यस्ता केही प्लान्टहरूले रोजगारी सिर्जना गर्दा रोकिएको पनि छ,” उनी भन्छन्, “हामीले धेरै नकारात्मक भाष्य बनायौँ कि जस्तो लाग्छ । देश विस्तारै निर्माण भइरहेको छ ।”
सवारी साधनको मापदन्ड कोरियाकै पर्यवेक्षकले गर्छन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीमय भएको अवस्थामा हुन्डाईले किन पेट्रोलियम खपत गर्ने सवारी प्लान्ट राखेको भन्ने प्रश्नमा थपलियाको प्रतिक्रिया यस्तो छ, – “हाम्रोमा विद्युतीय सवारीको लागि जुन प्रकारले बन्नुपर्ने पूर्वाधार छ, त्यो बनेको छैन । सहरी क्षेत्रका लागि त ठीकै होला, तर अलि टाढा जान परेको खन्डमा सोच्नुपर्ने अवस्था छ ।”
हुन्डाईले अगामी पाँचवर्षमा ३६ लाख बढी विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य निर्धारण गरिसकेको छ ।
कम्पनीले सन् २०३० सम्ममा वार्षिक ३६ लाखभन्दा बढी विद्युतीय सवारी उत्पादन गर्दै विश्वबजारको सात प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ । नेपाली बजारमा विद्युतीय सवारीमा चिनियाँ सवारीको दबदबा रहेको छ ।
काठमाडौंको बजारमा अधिकांस निजी सवारीमा चिनियाँ सवारी साधन देखिन्छन् ।
चिनियाँ सवारीको दबदबा बढेपछि हुन्डाईले गत महिनामा मात्रै ‘क्रेटा ईभी’ सार्वजनिक गर्यो । क्रेटा ईभी सार्वजनिक भएपछि ग्राहकहरू यसप्रति निकै आर्कषित भएको थपलिया बताउँछन् । “ईभीमा कर छुटपछि नेपालमा धेरै ईभी आयात भए, तर अझै यसको परीक्षण पूर्ण भएको छैन,” उनले भने ।
हुन्डाईले सार्वजनिक गरेको क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार राखेको छ । उक्त मूल्यमा ग्राहकहरूले विश्वस्तरीय ब्रान्डको लक्जरियस सवारी पाउने थपलियाको दाबी छ ।
“अहिले कतिपय विद्युतीय सवारीका देख्नमा सस्तो लाग्छ, तर त्यसमा लाग्ने पार्टपूर्जा एक महिनाको तलबले नधान्ने अवस्थाका छन्,” उनले भने, “क्रेटा ईभीको अधिकांस पार्ट क्रेटा आइससँग मिल्छ । अन्यको तुलनामा यो सस्तो पनि छ ।”
गत महिना हुन्डाईले ‘क्रेटा ईभी’सँग क्रेटा आईसीई (मेड इन नेपाल) समेत सार्वजनिक गरेको थियो । सन् २०२५ मा आयात गरिने आईसीई मोडेलहरूको मूल्यमा प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रूपैयाँ राखिएको छ ।
सन् २०२५ मा आयात गरिने आईसीई मोडेलहरूको मूल्यमा तुलना गर्दा यो ९ लाख रूपैयाँसम्म कम हो ।
सरकारले नीतिगत भेदभाव गर्यो
विगतका केही वर्षहरूलाई हेर्दा अधिकांश विद्युतीय सवारी आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६–७७ देखि विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क घटाएपछि ईभीतर्फ चासो बढ्यो । ईभी सस्तो भएपछि उपभोक्ता यसतर्फ झुम्मिए । आयात हुनेमा ७० प्रतिशत ईभीको बजार हिस्सा रह्यो ।
सरकारले ईभीमा अचानक छुट दिएका कारण पेट्रोलियम पदार्थको सवारी बिक्रीमा भारी गिरावट आयो ।
“सरकारले नीतिगत भेदभाव गर्यो, विस्तार कसरी गर्ने भन्ने कुनै योजनाबिना नै विद्युतीय सवारीले राजस्व आउने बाटो बन्द गर्यो,” उनले भने ।
सरकारले सार्वजनिक क्षेत्रमा विद्युतीय सवारीको प्रवर्द्धन गर्दै लैजानुपर्नेमा महाप्रबन्धक थपलिया जोड दिन्छन् ।
“सरकारले ईभीमा ह्वात्तै कर घटाइदियो, यसले गर्दा पेट्रोलियम सवारी बिक्री ठप्प जस्तै भो, २७० प्रतिशत कर लगाएर राजस्व उठाइरहेको क्षेत्र ठप्प भयो,” उनी भन्छन्, “ईभीमा छुट दियो भनेर हाम्रो आपत्ति होइन, तर पेट्रोलियम गाडी बिक्री गर्नेलाई त गाह्रो भयो नि ।”
कोभिडपछि अधिकांश क्षेत्र धरासयी हुँदा विद्युतीय सवारी बिक्रेताले १२० प्रतिशतसम्म 'ग्रोथ' गरेको थपलियाको दाबी छ ।
“कोभिडले विश्वव्यापी असर पार्यो । नेपालका हरेक व्यापारीलाई सोध्नुस् निराशाबाहेक केही पाउनुहुन्न, नाफा गर्नेहरूको संख्या हेर्दा पनि १० प्रतिशतबढी छैन,” थपलिया भन्छन्, “विद्युतीय सवारीको क्षेत्रमा हेर्नुहुन्छ भने छोटो समयमा निकै प्रगति गरेका उदाहरण छन् ।”
सरकारको बजेट निरन्तर घाटामा छ । गत वर्ष मात्रै सरकारले बजेटमा तीन खर्ब १९ घाटा व्यहोर्यो । सरकारको राजस्व आयात आयातम निर्भर छ । यस वर्षको बजेटमा करबाट प्राप्त हुने राजस्वमार्फत १२ खर्ब ६० उठाउने लक्ष्य राखेको छ ।
चैत मसान्तसम्म ८ खर्ब ३२ संकलन भएको छ । ९ महिनासम्मको आकडा हेर्दा राजस्व लक्ष्य भेट्न सक्ने आधार देखिँदैन । पेट्रोलियम पर्दाथ खपतको सवारी जुन प्रकारले घटाउँदै जानुपर्थ्यो त्यो नगरेर सरकारले आफ्नै खुट्टामा बन्चरो हानेको थपलिया बताउँछन् ।
“ईभीमा जानुपर्छ, सबै विस्तारै गइरहेका छन् । त्यसमा कुनै शंका छैन,” उनले भने, “यो वर्ष यति प्रतिशत ईभी पुर्याउने भन्ने लक्ष्य निर्धारण हुनुपर्थ्यो ।”
सरकारको नीति पहिला विद्युतीय सवारी आयात गर्ने र त्यसपछि मात्रै पूर्वाधारमा हात हाल्ने प्रवृति रहेको थपलिया बताउँछन् ।
“पूर्वाधार नभई ईभी ल्याएको छ, काठमाडौंको दैनिक ३०–४० किमी हिँड्न त गाह्रो नहोला, तर काठमाडौं बाहिर जानुपरेको अवस्थामा धेरै पटक सोच्नुपर्छ,” उनले भने । सरकारको आगमी बजेटमा विद्युतीय र पेट्रोलियम पदार्थ खपत गर्ने सवारीलाई कसरी सहज हुन्छ सोही प्रकारको व्यवस्था गर्न थपलिया सरकारसँग आग्रह गर्छन् ।
“हामीलाई चाहिएको केही होइन, सरकारको नीतिले इन्ड्रस्टीलाई नै राम्रो गर्ने होस्” थपलिया भन्छन्,“ईभीलाई र आईसीई गाडीलाई सरकारको व्यवहार राम्रो होस् जसले गर्दा इन्ड्रस्ट्री नै राम्रो हुनुपर्छ ।”
(लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियासँग गरेको कुराकानीमा आधारित)