site stats
बाह्रखरी :: Baahrakhari
खेल
इसान एसियन पब्जी च्याम्पियनसिप वैशाख २६ देखि

काठमाडौं । ई–स्पोर्टस् संघ नेपाल (इसान)को आयोजनामा इसान एसियन पब्जी च्याम्पियनसिप आगामी वैशाख अन्तिम सातामा हुने भएको छ ।

कुल १३ राष्ट्रको टोलीले प्रतिस्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमार्फत ई–स्पोर्टस् संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए ।

Argakhachi Cement Island Ad

उक्त प्रतियोगितामा नेपालका तीन टोली डीआरएस, होरा इस्पोट्र्स र नेपेक्स इस्पोर्टस् ले खेल्ने भएको छ । मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिस्पर्धा गर्ने भएका छन् । बिग ब्राकेट्स इस्पोर्टसले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।

आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताका शीर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले ई–स्पोर्टस्को पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए । अध्यक्ष धमलाले भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकतावद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्