site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण बनाउछौँ : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति यूएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताएका हुन् ।

“मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ । धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रूपमा लिने गरिएको पाइन्छ । अझ, विदेशमा बस्ने नेपालीहरूलाई विदेशको विकास र प्रविधिहरू देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरूलाई भन्न चाहन्छु । यदि साँच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,” उनले भने ।

उनले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरूमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गरे ।

उनले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आग्रह गरे । “तपाईंहरूले यहाँ धेरै राम्रो गर्नुभएको छ । तपाईंहरूले आफ्नो पुँजीको केही अंश मात्र भए पनि नेपालमा लगानी गरेर त्यहाँ उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सघाउनुभयो भने पक्कै पनि हाम्रो विकासको गति तीव्र पार्न सकिन्छ,” उनले भने ।

उनले वैदेशिक रोजगारीमा रहेका नेपाली समेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै उक्त कम्पनीमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्