site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केपी ओली–विद्या भण्डारी गुट झाँगिदै, विराटनगरमा दुवै पक्षबीच नोकझोक !

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन जारी छ ।  पार्टी कार्यालय पाञ्चालीमा मतदानको तयारी हुँदै गर्दा नयाँ नेतृत्व चयनभन्दा पनि संस्थापन (केपी ओली पक्ष) र इतर (विद्यादेवी भण्डारी)पक्षीय नेताको नोकझोकको बढी चर्चा छ । 

सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल छ ।  तस्बिरमा हातमा माला लिएका एमाले नेता विनोद ढकाल कार्यक्रमस्थलबाट बाहिरिन लाग्दा उनलाई एक स्थानीय नेताले रोक्दै गरेको देखिन्छ ।  ढकाल पहिले ओली पक्षका नेता थिए भने प्रदेश अधिवेशनदेखि भण्डारी पक्षमा दृढ उभिएका छन् ।

अधिवेशन उद्घाटनका दिन ‘मञ्चमा मानमर्दन गरी बोल्न नदिएपछि’ ढकाल झोक्किँदै कार्यक्रमस्थलबाट बाहिरिन खोजेको देखिन्छ ।  यही विवाद र चर्चाबीच एमाले विराटनगर महानगर कमिटीको चुनाव सुरु हुने वा विलम्ब हुने भन्ने अन्योल कायमै छ । 

अधिवेशन उद्घाटनका दिन एमाले विराटनगर महानगर कमिटीका इन्चार्ज पर्शुराम बस्नेतले मानमर्दन गरेको ढकाल पक्षको आरोप छ ।  बस्नेत ओली पक्षका नेता हुन् । उनले ‘अवैधानिक नेतृत्वलाई भाषण गर्न नदिने’ भनेर मानमर्दन गरेको भन्दै ढकाल कार्यक्रम छाडेर हिड्न खोजेका थिए । 

तर बस्नेतले भने आफूले कसैको मानमर्दन नगरेको दाबी गरेका छन् । बस्नेतले बाह्रखरीसँग भने, “मैले आफू बसेको कुर्सी छाडेर उहाँलाई राखेको हो । तलबाट फेरि नेता नरेश पोखरेल आउनुभयो, उहाँलाई पनि कुर्सी दिएँ । मैले अवैधानिक नेतृत्व भनेकै होइन, मानमर्दन गर्नुपर्ने कुनै कारण पनि छैन ।” 

‘धेरै भाषण नगरौँ, उद्घाटन सत्र छोटो गरौँ’ भन्ने आफ्नो प्रस्ताव रहेको उनले दाबी गरे ।  कार्यक्रम छोट्याउनकै लागि मन्तव्यमा सीमित नेताको मात्र नाम राखिएको थियो । 

जसमा कोसी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, एमाले मोरङ अध्यक्ष सागर थापा र महानगर इन्चार्जले मात्र सम्बोधन गर्ने सेड्युअल रहेको बस्नेतले जानकारी दिए । 

“तर आफूले बोल्न नपाउने थाहा पाएपछि उहाँ माला फ्याँक्दै झोँक्किएर कार्यक्रमस्थलबाट बाहिरिनुभयो,” उनले भने ।  

“प्रदेश इन्चार्जलाई छेवैमा राखेर मैले परिभाषित नेतृत्वलाई मात्र सम्बोधन गर्न दिने भनेको हो, तर उहाँलाई पचेन । मतदाता र मत प्रभावित गर्न उहाँले प्रयास गरेजस्तो देखियो,” बस्नेतले भने, “बन्दसत्रमा कुरा उठ्यो । पार्टी विधान र नीतिले चल्छ भन्ने मैले जवाफ दिएँ ।” 

ढकाल पार्टीको केन्द्रीय सल्लाहकार हुन् । उनको जिम्मेवारी केन्द्रका कार्यक्रम र तत् समितिमा सल्लाह दिनु रहेको बस्नेतले बताए ।  आफूले अवैधानिक नेतृत्व भनेर मानमर्दन नगरेको बरु प्रदेश इन्चार्ज शेरधन राईले कुरा गर्दागर्दै ढकाल मञ्च छाडेर बाहिरिएको बस्नेतले सुनाए ।

नेता ढकालले भने अधिवेशनमा निमन्त्रण पाएरै आफू कार्यक्रमस्थलमा तर वैधानिक र अवैधानिक नेतृत्वको कुरा गरिएपछि हिँडेको ढकालले सञ्चारकर्मीलाई बताएका छन् । पार्टीलाई एकपक्षीय ढंगले सञ्चालन गर्न खोजिएको ढकालको प्रतिक्रिया थियो । 

यस्तो छ विवादको शृङ्खला

एमाले महानगर कमिटीभित्रको विवाद विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनबाट चुलिएको हो ।  पार्टीको आधिकारिक उमेदवारलाई हराउन बागी उमेदवार खडा गरेको आरोपमा एमालेका तत्कालीन महानगर अध्यक्ष सागर थापा कारबाहीमा परेका थिए । 

उनी ढकालनिकट हुन् । पछि उनको कारबाही प्रदेश कमिटीले फुकुवा गरी केन्द्रलाई सिफारिस गरेको थियो । थापा अहिले इतर समूहबाट एमाले मोरङको उपाध्यक्षमा निर्वाचित भई कार्यजिम्मेवारीमा छन् । नेतृत्वबीचको विवाद एमाले कोसी प्रदेश कमिटीको अधिवेशनमा समेत छताछुल्ल भएको थियो । 

ढकाल अध्यक्षका उमेदवार थिए । उनका प्रतिस्पर्धी थिए, पूर्वसांसद घनश्याम खतिवडा ।  खतिवडालाई एमाले अध्यक्ष केपी ओलीको समर्थन थियो ।  तीन दिनसम्म निर्वाचन रोकेर भएको त्यो निर्वाचनमा ढकाल खतिवडासँग पराजित बन्न पुगे । 

ढकाल पहिले पार्टी अध्यक्ष केपी ओलीसँग निकट मानिन्थे । हिजोआज उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिकिएको मानिन्छ ।  केहीअघि भण्डारी कोसी प्रदेश भ्रमणमा आएका बेला ढकालले नै स्थानीय नेतृत्वसँगको भेटघाट र औपचारिक कार्यक्रमको चाँजोपाँजो मिलाएका थिए । 

यद्यपि पार्टीको स्थानीय नेतृत्वले नै भण्डारीको ‘सेड्युअल’ तय गरेको ढकालले बताउने गरेका छन् ।  “भेटघाटको कार्यक्रम त पार्टी कमिटीले नै बनाउने हो, पूर्वराष्ट्रपति आउँदा भेटघाट गर्न म गएकै हो । त्यही पार्टीको जिम्मेवार नेता भएको नाताले नजाने भन्ने कुरै हुँदैन,” त्यसबेला ढकालले बाह्रखरीसँग भनेका थिए ।  

महानगरमा पनि गुटगत उमेदवारी

एमाले विराटनगर कमिटीको निर्वाचन समितिले बिहीबार अबेर भए पनि निर्वाचन प्रक्रिया थाल्ने तयारी गरिरहेको छ ।  एमाले मोरङ इन्चार्ज जीवन घिमिरेका अनुसार सदस्य पदमा कतिपय दोहोरो नामावली परेको पाइएकाले त्यसलाई मिलाएर अन्तिम नामावली प्रकाशन गरी निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । 

“केही प्राविधिक पक्ष मिलाएपछि अरू प्रक्रियामा जान्छौँ,” घिमिरेले भने । संस्थापनबाट अध्यक्षमा रोहित कोइराला र इतरबाट बलराम गिरी चुनावी प्रतिस्पर्धामा छन् ।  गिरीको समूहबाट उपाध्यक्षमा सुवास न्यौपाने, सचिवमा विज्ञान शर्मा, उपसचिवमा अन्ताज हुसेन र हिमा मैनाली छन् । 

यसैगरी कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगी उमेदवार छन् ।   अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी चयन गर्नेछ । एमाले महानगर कमिटीको दोस्रो अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि चुनिएर आएका छन् । 

जनसंगठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएका छन् ।  मनोनीत १५ सहित ३१५ जना मतदाता मतदानमा सहभागी हुने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्