site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय जीवन बिमा कम्पनीले डेढ अर्बको आईपीओ निष्कासन गर्ने

काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनीले पुँजी वृद्धि गर्ने योजनाको गृहकार्य सुरु भएको छ । त्यस निम्ति कम्पनी सञ्चालक समितिको २०८१ असार ३० गतेको पुँजीवृद्धि योजना अनुमोदन गर्न साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले पुँजी वृद्धि योजनाका साथै आर्थिक वर्ष २०६९/७० देखि लगातार पाँच आर्थिक वर्ष २०७३/७४ सम्मको वासलत, नाफा/नोक्सान हिसाब, त्यही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसहितका अनुसूचीमा छलफल गर्न आगामी वैशाख ३ गते साधारणसभा गर्ने मिति तय गरेको छ । 

नेपाल बिमा प्राधिकरणले जीवन बिमाको हकमा पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको हकमा साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न तीन वर्षअघि निर्देशन दिएको थियो । 

त्यहीअनुसार राष्ट्रिय जीवन बिमा कम्पनी सञ्चालक समितिले पाँच अर्बको ३० प्रतिशत हुन आउने रकम बराबरको प्राथमिक सेयर (आईपीओ) र बाँकी पुुँजी संस्थापकले चुक्ता गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयलाई वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने कम्पनीको विशेष प्रस्ताव छ ।   

हाल संस्थाको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ छ । प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न अब यो कम्पनीलाई चार अर्ब ८१ करोड ८९ लाख ८० हजार रुपैयाँ आवश्यक पर्छ ।

कम्पनीले एक अर्ब ५० करोड रुपैयाँ आईपीओमार्फत जुटाउने भनेको छ । सर्वसाधारण आईपीओबाट साढे एक अर्ब जुटाएपछि बाँकी तीन अर्ब ५० करोड रुपैयाँ संस्थापकको हुनुपर्छ । 

हाल संस्थापकको तर्फबाट १८ करोड १० लाख २० हजार रुपैयाँ चुक्ता भइसकेको छ । अब बाँकी तीन अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ संस्थापकतर्फबाट कायम गर्नुपर्ने छ ।

संस्थापक सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंक रहेका छन् । कुल पुँजीको सबैभन्दा बढी सेयर स्वामित्व नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत छ । त्यसैगरी अर्थ मन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व छ । 

चुक्ता भएको पुँजीमध्ये नेपाल राष्ट्र बैंकको १० करोड पाँच लाख ७४ हजार ७१२ रुपैयाँ, अर्थ मन्त्रालयको पाँच करोड दुई लाख ६९ हजार २५४ रुपैयाँ र नेपाल बैंकको तीन करोड एक लाख ७६ हजार ३४ रुपैयाँ छ । यसअघि राष्ट्रिय बिमा संस्थान हुँदा आफ्नो भागमा पर्ने एक अर्ब ८४ करोड ४० लाख रुपैयाँ राष्ट्र बैंकले चुक्ता गरेको थियो । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणमा राष्ट्र बैंकबाट चुक्ता भएको पुँजी समावेश गरेको थियो । 

तर, संस्थान कम्पनी लिमिटेडमा दर्ता भएपछि राष्ट्र बैंकको पैसा फिर्ता पठाइएको राष्ट्रिय जीवन बिमा कम्पनीका लगानी तथा लेखा विभागका प्रबन्धक रेशमकृष्ण सोम पौडेलले बताए । “संस्थान हुँदा राष्ट्र बैंकले आफ्नो भागमा पर्ने पुँजी हालेको थियो,” प्रबन्धक पौडेलले भने, “कम्पनीमा दर्ता भएपछि सबैले पछि चुक्ता गर्ने भनेर राष्ट्र बैंकले हालेको पैसा फिर्ता पठाइयो ।”  

हालको सेयर स्वाप रेसियोअनुसार प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न नेपाल राष्ट्र बैंकको भागमा एक अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पर्छ । अर्थ मन्त्रालयको भागमा ९७ करोड १९ लाख ५० हजार र नेपाल बैंकको भागमा ५८ करोड ३४ लाख ५० हजार रुपैयाँ पर्छ ।

अर्थ मन्त्रालयले संस्थापकको तर्फबाट पुँजी पुर्‍याउन ९२ करोड १६ लाख ८० हजार रुपैयाँ थप गर्नुपर्छ ।

त्यस्तै नेपाल बैंकले ५५ करोड ३२ लाख ७३ हजार रुपैयाँ चुक्ता गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले एक अर्ब ८४ करोड ४० लाख रुपैयाँ चुक्ता गर्नुपर्छ । 

सञ्चालकहरूकै सहमतिमा पुँजी वृद्धि योजना बनाएकाले पारित भएर सोही अनुसार लागु हुने राष्ट्रिय जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थी बताले बताए । “सर्वसाधारणलाई कुल पाँच अर्बको ३० प्रतिशत हुन आउने साढे एक अर्बको प्रिमियम मूल्यमा आईपीओ निष्कासन हुन्छ,” उनले भने, “संस्थापकहरूले पनि पुँजी जुटाउने हिसाबले योजना बनेको छ । सरकारले आफ्नो स्वामित्व बेचेर कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोष भित्र्याउन सक्छ ।”  

पुससम्म सबै वर्षका लेखा परीक्षण सक्ने

कम्पनीले आगामी पुस मसान्तसम्म आर्थिक वर्ष २०८१/८२ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने बताइएको छ । महालेखापरीक्षकको कार्यालयको स्वीकृति लिएर आर्थिक वर्ष २०७४/७५, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण असार मसान्तसम्म सक्ने र बाँकी तीन आर्थिक वर्षको लेखापरीक्षण पुससम्म सक्ने सीईओ पन्थी बताउँछन् ।

“संस्थानबाट कम्पनीमा रूपान्तरण भएपछिको म पहिलो सीईओ हुँ । एकै पटकमा हामीले पाँच वर्षको लेखापरीक्षण गरेर एजीएम गर्न लागेका छौं,” सीईओ पन्थीले बाह्रखरीसित भने, “अब पाँच वर्षको यही आर्थिक वर्षभित्र र बाँकी तीन वर्षको पुस मसान्तभित्र लेखापरीक्षण गरेर कम्पनीलाई नयाँ स्वरूप दिने तयारीमा हामी छौं । काम पनि सोही अनुसार भइरहेको छ ।” 

त्यस्तै आगामी वैशाखमा हुने एजीएमबाट पुँजी वृद्धिको योजना अनुमोदन गरेर राख्ने पन्थी बताउँछन् ।  
 

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्