site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेविसंघको आधिकारिकता विवादले मोरङ क्याम्पसमा तालाबन्दी

विराटनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिकता विवादपछि महेन्द्र मोरङ क्याम्पस विराटनगरमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले अलगअलग मनोनयन दर्ता गरेपछि विवाद भएको हो । 

महेन्द्र मोरङ क्याम्पसमा नेता शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजंग विष्टको प्यानल दर्ता भएको थियो । तर, कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

नेविसंघका मोरङ सभापति सरोज पोखरेलले केन्द्रले परिपत्र गरे पनि समितिले मध्यरातमा स्वतन्त्र उल्लेख गरी नामावली प्रकाशन गरिदिएको बताए । "हाम्रो आधिकारिकतालाई चुनैती दिएकाले तालाबन्दी गरेका हौँ," उनले भने ।

मोरङ क्याम्पसमा यसअघि इकाइ गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई खेमाले एकआपसमा कुटाकुट गरेका थिए ।‌

विराटनगरको नर्सिङ क्याम्पसमा नेविसंघकी सुजिता खत्रीले सभापतिमा उमेदवारी दिएकी छन् । त्यहाँ अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आआफ्ना उमेदवार उठाएका छन् । नेविसंघ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रीय तोकिएको प्रतिनिधिको रोहबरमा मनोनयन दर्ता गरिएको बताइन् ।

"केन्द्रले नतोकी मनोनयन दर्ता गराउनेलाई स्वतन्त्र मानेर नामावली प्रकाशन भएको हो," उनले भनिन् ।

नेविसंघको महेन्द्र मोरङ घटनापछि संस्थापन पक्षले जिल्ला सभापतिमा मोहम्मद तनवीरलाई चयन गरिएको केही दिनअघि घोषणा गरेको थियो ।

विराटनगरको स्नातकोत्तर क्याम्पसमा पनि निर्वाचन विवादपछि अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्