site stats
बाह्रखरी :: Baahrakhari
देश
पाथीभरा केबलकारका विषयमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजना र नो केबलकार समूहबीच भइरहेको पछिल्लो घटनाक्रमको समाचार सम्प्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

‘‘संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने पत्रकारको अधिकारको सम्मान गर्नु हरेक पक्षको दायित्व हो,’ महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘कुनै पनि पक्षबाट यो या त्यो बहानामा पत्रकारमाथि दुव्र्यवहार गर्ने र अनावश्यक दबाब दिनेजस्ता हर्कत हुनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप हो । महासंघ यस्ता हर्कतप्रति खेद व्यक्त गर्दछ ।’’

यस किसिमका घटना दोहोरिन नदिनेतर्फ गम्भीर हुन, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई सहज रूपमा समाचार संकलन तथा सम्प्रेषणको वातावरण मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । 

‘‘व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्त्वपूर्ण आधार हो । यो घटनाका सन्दर्भमा पत्रकार आचारसंहिताको दायरामा रहेर पत्रकारिताको पेसागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित भई समाचार एवं सूचना प्रवाहका लागि महासंघ सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘समाचार बनाउँदा विषयवस्तुलाई अतिरञ्जित नगरी पत्रकारिताको मूल्यमान्यता पालना गर्न आह्वान गरिन्छ । महासंघ सुरक्षाको ख्याल गर्दै आफ्नो पेसागत धर्म निर्वाह गर्न सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह पनि गर्दछ ।’’ 

साथै, महासंघले केबलकार परियोजना र नो केबलकार समूहबीच उत्पन्न विवादलाई वार्ता, छलफल र समझदारीका माध्यमबाट समाधान खोज्न सकिने प्रचलित अभ्यासको स्मरण गराउँदै यसतर्फ पहल गर्न सम्बद्ध पक्ष समक्ष आग्रह गरेको छ । यसतर्फ प्रेरित गराउन सञ्चारकर्मीहरूलाई महासंघले अपिल गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्