site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले देशव्यापी प्रचार अभियान गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि देशव्यापी प्रचार अभियान आयोजना गर्ने भएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिने उद्देश्यले राष्ट्रिय प्रचार अभियान आयोजना गर्न लागिएको जनाएको हो ।

फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेशस्तरीय अभियान आयोजना गरिएको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका सचिव गोपाल झाले जानकारी दिए । 

केही शक्तिले पार्टी मात्र नभई सिंगो व्यवस्था र प्रणालीलाई नै बदनाम हुने गरी नकारात्मक प्रचार गरिरहेको सन्दर्भलाई दृष्टिगत गरी राष्ट्रिय प्रचार अभियान आयोजना गरिएको उनले बताए । 

राष्ट्रिय प्रचार अभियानमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्य, प्रदेश सभाका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीलगायतको उपस्थिति हुने सचिव झाले जानकारी दिए । अभियानका क्रममा दुईवटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्