site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनले भने– जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ वाग्मती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले आमनागरिकहरूले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरूको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने उनको भनाइ थियो ।  नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताए ।

उनले भने, "आमनागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौँ भन्ने सोच्छ । भ्रष्टाचारले हामीलाई यति गाँज्यो की हामीले ठिक गति समात्न सकेनौँ भन्ने कतिलाई लागेको छ भने यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौँ । त्यसलाई न्यून गर्ने कुरामा ध्यान दिनुपर्छ । जति नेपाली जनताले सुनेका काण्डहरू छन् । त्यो चाहे वाइडबडी काण्ड होस्, ललिता निवास काण्ड होस्, गिरिबन्धुको होस्, सिभिलको होस् । जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पारौँ । यस भित्र भएको प्रत्येक काण्डहरू अख्तियारले गर्छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनु पर्छ बनाऔँ ।"

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्