site stats
बाह्रखरी :: Baahrakhari
देश
उत्तगरगयाधाम वेत्रावती : हिन्दु र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

नुवाकोट । पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दु र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डंगोलले जानकारी दिए ।

उनका अनुसार, धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल वेत्रावती (उत्तरगया)मा दिवंगत पितृको चिरशान्तिको कामनासहित जौको पिण्ड बनाई तर्पण, सिधादान र पिण्डदान गर्न हिन्दु र बौद्ध धर्मावलम्बी सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो ।

“सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित वेत्रगंगा र रुद्रगंगा तथा त्यसभन्दा दूरमा रहेको नीलाद्री पर्वतमा त्रिशूल खोप्दा निस्किएको जल बगेको त्रिशूली नदीको भेट भएको त्रिवेणीधाम उत्तगरगया पवित्र तीर्थस्थल हो,” अध्यक्ष डंगोलले भने, “वेत्रावती उत्तरगयाधाम हिन्दु धर्मावलम्बीको प्रमुख चारधाममध्येको मुख्य र नेपालमा रहेको एक मात्र धामका रूपमा पुज्ने गरिन्छ ।”

दक्षिणायनको अन्तिम औँसीका रूपमा रहेको पौष कृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवंगत व्यक्तिको वैकुण्ठमा वास हुने, जीवनमा जानअन्जानमा भएका गल्ती क्षमा हुने र मृत्युपरान्त मोक्ष पाउने धार्मिक विश्वास छ ।

धर्मशास्त्रानुसार चार गयामध्ये तीन गया भारतमा पर्छ । नेपालमा पर्ने उत्तरगयाधाम वेत्रावती हिन्दु र बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिन्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुअघि उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दु र बौद्धमार्गी अनुयायीको आस्था जोडिएको छ । सोही तथ्य हिमवत्खण्डमा समेत उल्लेख रहेको ओखलढुंगाबाट श्राद्ध गर्न वेत्रावती आएका पण्डित लोकनाथ उपाध्यायले बताए ।

उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष र अन्यथा जीवनमा एकपटक भए पनि पिण्ड तर्पण गर्नुपर्छ भन्ने विश्वासमा ङो (श्राद्ध) गर्न आएको धादिङको धुनिबेँसी नगरपालिका–१ का ज्ञानबहादुर लामाले बताए ।

उनका अनुसार, तामाङ समुदायमा दिवंगत व्यक्तिको पुण्य, आत्माको चिरशान्ति र केही बाधा–अड्चन भएमा तथा स्वर्गलोक पुग्न बाँकी रहेमा त्यसको क्षमाका निम्ति बौद्धमार्गीले ङो गर्ने गरिएको छ ।

पवित्र नदी त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटका गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्