site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थिरता र सुशासनका लागि कांग्रेस–एमाले मिलेका हौँ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारको मुख्य लक्ष्य सुशासन रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित 'द राइजिङ नेपाल'को ५९औँ वार्षिकोत्सव समारोहमा मन्त्री गुरुङले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताए ।

"सुशासन कायम गर्ने कुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ," उनले भने ।

मन्त्री गुरुङले सुशासन कायम गर्न ठूला राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताए । सोहीअनुसार अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको उनको भनाइ छ ।

"राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरूमा एकता कायम हुनुपर्‍यो । अहिले कांग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पुर्‍याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ," उनले भने ।

मन्त्री गुरुङले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । उनले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्न गरी कामहरू अघि बढाइरहेको पनि बताए ।

"पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेन्डा हो, जनतासँग रेस्पोन्सिभ हुनुपर्‍यो नि । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छौँ," उनले भने ।

मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको पनि बताए ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्