site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बसको ढोकाबाट खसेर शनिबार दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–८, शेषमतीको लामबगरस्थित शान्तिटोल गेटनजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, दुर्घटनामा नुवाकोटको ककनी गाउँपालिका–५ का ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ की ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो ।

दुर्घटनामा उनीहरू गम्भीर घाइते भएका थिए । दुवैजनाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको उनले जानकारी दिए ।

बसबाट खसेर घाइते भएका सहचालकलाई उपचारका निम्ति राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्