site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको जितपछि किन एकहजार प्रतिशतले बढ्यो गर्भनिरोधक औषधिको माग ?

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएपछि गर्भनिरोधक औषधिको माग बढेको छ । यसबाहेक आकस्मिक गर्भनिरोधक औषधिको माग पनि तीव्र गतिमा बढिरहेको छ ।

अमेरिकी पत्रिका यूएसए टुडेको रिपोर्टका अनुसार, गर्भनिरोधक औषधि बनाउने कम्पनी विस्पले नोभेम्बर ५ देखि ७ सम्म आपत्‌कालीन गर्भनिरोधक औषधिको बिक्रीमा एकहजार प्रतिशतले वृद्धि भएको जनाएको छ ।

यस अवधिमा यी औषधि खरिद गर्नेको संख्या १,६५० प्रतिशतले बढेको छ । यसबाहेक गर्भपतन गर्ने औषधिको बिक्री पनि ६०० प्रतिशतले बढेको छ ।

ट्रम्पले चुनाव जितेपछि अमेरिकी महिलाहरूमा गर्भपतन अधिकार जोखिममा पर्ने डर छ ।

सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकार खारेज गरेको थियो । त्यसबेला ट्रम्पले अदालतको निर्णयको समर्थन गरेका थिए । ट्रम्प सरकारको आगमनले गर्भपतन अधिकार थप संकटमा पर्न सक्ने डर अमेरिकीहरूमा छ ।

पोस्ट पोल सर्वेक्षणमा ५० प्रतिशतभन्दा बढी महिलाहरू सुरक्षित गर्भपतन र सम्बन्धित स्वास्थ्य सेवाहरूमा पहुँच नहुने कुरामा चिन्तित देखिएका थिए ।

अहिले धेरै कम्पनीहरूले टेलिमेडिसिन र अनलाइन सेवामार्फत महिलाहरूलाई घरमै गर्भनिरोधक चक्कीहरू उपलब्ध गराइरहेका छन् ।

अमेरिकामा चुनाव हुनुअघि राजधानी वासिङ्टन डीसीमा महिलाहरूले गर्भपतनको अधिकारलाई लिएर प्रदर्शन गरेका थिए ।

अमेरिकामा गर्भपतनको इतिहास

सन् १८८० सम्म अमेरिकामा गर्भपतन वैध थियो । सन् १८७३ मा अमेरिकामा गर्भपतन गर्ने औषधिमाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९०० सम्म गर्भपतन लगभग सबै राज्यहरूमा प्रतिबन्धित थियो ।

गर्भपतनका कारण आमाको ज्यान खतरामा परेको अवस्थामा मात्रै गर्भपतन गर्न पाइन्थ्यो । सन् १९६० को दशकमा महिलाहरूले आफ्नो अधिकारका लागि आन्दोलन सुरु गरे । सन् १९६९ मा नोर्मा म्याककोर्वीले गर्भपतन कानुनलाई चुनौती दिए । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो र सन् १९७३ मा सर्वोच्च अदालतले अमेरिकामा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।

तर, जुन २४, २०२२ मा अमेरिकी सर्वोच्च अदालतले यो फैसलालाई उल्टाइदियो । यसपछि गर्भपतनका लागि महिलालाई दिइएको संवैधानिक संरक्षण पनि समाप्त भयो ।

एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्