site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेटमणि चौधरीमाथि छानबिन गर्नुपर्ने आवाज संसद्‌मा उठ्यो, देशद्रोहीको मुद्दा लगाउन माग

काठमाडौं । सांसद सूर्यप्रसाद ढकालले नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणि चौधरीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले उक्त माग गरेका हुन् । 

“एकजना पूर्वमन्त्रीले एउटा सञ्चारमाध्यममा आफ्ना विचार राख्ने क्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग होइन, भारतको भू–भाग हो भन्ने विचार व्यक्त गर्नुभएछ । यो संविधान विरोधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु,” उनले चौधरीको नाम नलिइ भने । 

केही दिनअघि चौधरीले एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग नभएको अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका थिए । “यस्ता अभिव्यक्ति राष्ट्रघाती कुरा हो । संविधान विरोधी कुरा हो । देशद्रोही कुरा हो । राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई खण्डित गर्ने कुरा हो । विदेशी प्रभुलाई खुसी बनाउने कुरा हो,” ढकालले भने ।

विगतमा पनि एकजना माननीयले संविधान विरोधी अभिव्यक्ति दिएबापत पार्टीले कारबाही गरेको स्मरण उनले गरे । “सदनबाट सर्वसम्मत पास भएको विषयलाई यो नेपालको भू–भाग होइन भनेर यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहीको मुद्दा लगाउन आग्रह गर्न चाहन्छु,” ढकालले भने । 

उनले उक्त अभिव्यक्तिलाई लिएर सदनले छानबिन गर्नुपर्ने माग गरे । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्