site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री नहुँदै देउवाले भने– मेरो 'रिटायर्डमेन्ट' हुने बेला भयो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी र राष्ट्रिय राजनीतिबाट 'रिटायर' हुन लागेको बताएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेका उत्कृष्ट पालिकालाई सम्मानपछि सभापति देउवाले पार्टी कार्यालय सानेपामा यस्तो घोषणा गरेका हुन् ।

"मेरो उमेर पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ," देउवाले भने, "भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाईभन्दा बढ्ता चिन्ता हुनुपर्छ ।"

देउवाले पार्टी कमजोर बनाउनेहरू अझै लागिरहेको भन्दै उनीहरूलाई कमजोर पारेर कांग्रेसका थप मान्छे पार्टीमा फर्काउनुपर्ने बताए । एमालेसँगको गठबन्धनपछि फर्किने क्रम बढेको उनको भनाइ थियो ।

"हाम्रोबाट अरु पार्टीमा गएकाहरू पनि फर्किंदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ," देउवाले भने, "हाम्रो पार्टी कमजोर बनाउनेहरू अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ।"

सभापति देउवाले कांग्रेस आफू बलियो हुने नीतिमा रहेको भन्दै अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार पनि निर्माण नभएको पनि बताएका थिए ।

सभापति देउवा ओलीपछि प्रधानमन्त्री हुनेगरी एमालेसँग सातबुँदे सहमति गरेर गठबन्धन सरकार बनेको हो । तर, देउवाले भने त्यसअघि नै आफ्नो 'रिटायरमेन्ट'को समय भइसकेको बताएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्