site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकामा मुनाको हत्यामा संलग्न बबीको नेपाल ‘कनेक्सन’

काठमाडौं । सन् १९६० तिर भारतको जम्मु–काश्मिरबाट नेपाल आएका थिए दर्शन सिंह । ‘ट्रान्सपोर्ट’मा काम थालेका सिंह विस्तारै नेपाल बस्न थाले । लामो समय उनी नेपालमै रहेर ‘ट्रान्सपोर्ट’मा काम गरे ।
उनले ‘ट्रान्सपोर्ट’को काम छाडेर रेष्टुरेन्ट व्यवसायमा हात हाले ।

काठमाडौंको सुन्धारामा ‘इन्द्रपुरी’ रेष्टुरेन्ट खोले, त्यसपछि पाखोमा ‘मोतीमहल’ । मोतीमहल नाम चलेको रेष्टुरेन्ट थियो । त्यसलाई बन्द गरेर उनले थापाथली चोकमा ‘पञ्जाबी ढाबा’ खोले । त्यसबेलासम्म दर्शनका छोराहरु ठुला भइसकेका थिए । 

अमेरिकामा अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो मुनालाई 

अमीत र बबी सिंह दुई छोराहरु थिए दर्शनका । बबीको जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो ।  ललितपुरको सेन्ट जेभियर्स स्कुलपछि मोडर्न इन्डियन स्कुलबाट उच्च मावि तहसम्मको अध्ययन सकेका बबी अमेरिका प्रस्थान गरेका थिए करिब ३० वर्ष पहिला ।

“करिब ३० वर्षपहिले नै उनी अध्ययनका लागि अमेरिका  गएका हुन्,” बबीलाई सानैदेखि चिनेजानेका हरपाल सिंहले बाह्रखरीसँगको कुराकानीमा भने । उनै बबीलाई अमेरिकामा केही दिनअघि एकजना नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकामा अस्ताएकी मुनासँग आमा अनिताको त्यो अन्तिम संवाद...

अघिल्लो हप्ता ह्युस्टनस्थित अपार्टमेन्टमा मुनालाई गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा प्रवेश गरेर बबीले गोली प्रहार गरेका थिए ।

मुनालाई उनले के कारणले गोली प्रहार गरेका हुन् भन्नेबारेमा अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन । 

बबी मुनाको ओछ्यानमै पुगेर गोली हानेर बाहिरिएको अमेरिकाबाट प्रकाशित हुने अनलाइन सञ्चारमाध्यमले जनाएका छन् । मुनालाई चारवटा गोली प्रहार गरिएको जनाइएको छ ।

२१ वर्षकी मुनाको घर नेपालको भोजपुरमा हो । 

मुनालाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबी सिंह शाहले उनलाई लगातार पिछा गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय सिंह अघिल्लो साताको शनिबार रातितिर मुनाकै कोठाको ढोकातर्फ गएको सीसीटीभी फुटेजमा देखिएको छ ।

अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

मंगलबार अनुसन्धानकर्ताहरूले उनको सुरक्षा प्रणालीको पासवर्ड प्राप्त गरेको ह्युस्टनस्थित टेलिभिजन एवं अनलाइन क्लिकटुह्युस्टन (केपी आरसी–टीभी)ले जनाएको छ ।

ढोका नजिकैको सीसीटीभी फुटेजमा शनिबार बेलुका ८ बजेर ४० मिनेटतिर मुना र बबी सिंह ढोकामा पुगेको देखिएको उल्लेख गरेको छ ।

अमेरिकामा मुना पाण्डेको हत्यामा 'संलग्न' बब्बी सिंह पक्राउ

सीसीटीभी फुटेजमा मुनाले जुत्ताको बक्स, सपिङ ब्याग, कालो ज्याकेट र पर्स बोकेको देखिएको छ । कालो रङको पेस्तोल बोकेका बबी सिंहले बारम्बार ढोका खोल्न मुनालाई आग्रह गरेको रेकर्डमा देखिएको जनाइएको छ ।

त्यतिबेला मुना पाण्डेले ‘तिमीले के गर्न लागेको हो ?’ भनेर सोधेको सुनिएको बताइएको छ । 

त्यसपछि बबी सिंहले आफ्नो पेस्तोलको स्लाइड र्‍याक गर्दै फेरि ढोका खोल्न भनेका थिए ।

मुनालाई गोली हान्ने बबी सिंह पक्राउ, आरोपितलाई मृत्युदण्डसम्म हुन सक्छ !

मुनाले ढोका खोलेपछि बबी सिंहले उनलाई भित्र धकेलर पछाडिबाट ढोका लगाएको फुटेजमा देखिएको समाचारमा जनाइएको छ ।

त्यसको करिब एक घण्टापछि बबी सिंह अपार्टमेन्टबाट बाहिर निस्किएको देखिएको छ । भित्र पस्दा मुनाले बोकेको कालो झोला बबी सिंहले बोकेर निस्किएको अनुमान गरिएको छ ।

मुनाकै पछि लागेर ढोका खोल्न भनेका थिए 'गोली हान्ने' बबी सिंहले

बुधबार बबी सिंहको तस्बिर सार्वजनिक भएपछि मुनाले काम गर्ने रेस्टुरेन्टका मालिकलाई अर्को एक व्यक्तिले बबी सिंह उक्त रेस्टुरेन्टको नियमित ग्राहक भएको भनेको रेस्टुरेन्टका मालिकले अनुसन्धान अधिकारीहरूलाई बताएका छन् ।

ती व्यक्तिले व्यवसाय गर्नका लागि बबी सिंहसँग सम्पर्क राखेको बताइएको छ । उनले अधिकारीहरूलाई शाहको लाइसेन्स र फोन नम्बर उपलब्ध गराएका थिए ।

अर्की एक महिलाले पनि बबी सिंहलाई चिनेको भन्दै खबर गरेकी थिइन् । 

बबी सिंहका नेपालमा रहेका चिनेजानेका नजिकका व्यक्तिहरुले कसरी हत्यासम्म पुग्यो भन्नेबारेमा अनुमान गर्नै गाह्रो भएको बताउँछन् ।

“कोभिड सुरु हुनुभन्दा अघि बबी नेपाल आएको थियो,”हरपाल भन्छन्, “त्यसबेला मैले उसलाई दाह्री कपाल किन काटेको ? भनेर पनि सोधेको थिएँ । तर उसले चित्तबुझ्दो जवाफ चाहिँ दिएन ।”

फ्रेन्डस् क्लबबाट फुटबल खेल्ने गरेका बबी नेपालमा रहँदा गल्फ पनि खेल्ने गरेको उनी बताउँछन् ।

मुना पाण्डे प्रकरण : बबीलाई धरौटीमा छोड्न अस्वीकार 

अमेरिका पुगेपछि भारतीय मूलकी एक युवतीसँग विहे भएको तर पछि एउटा बच्चा भएपछि छाडेको भन्ने आफूहरुलाई जानकारी रहेको उनले बताए ।

मुनालाई नेपालमै चिनेको या अमेरिकामा पुगेपछि भन्नेबारेमा आफूहरुलाई कुनै जानकारी नभएको उनले बताए । मुनाकी आमा अनिताले बाह्रखरीसँग केही दिनअघि गरेको कुराकानीअनुसार मुना एक वर्षदेखि अमेरिकामा एक्लै बस्दै आएकी थिइन् ।

सन् २०२१ मा प्लस टु पास गरेर मुना नर्सिङ्ग अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

पक्राउ परेका सिंहमाथि अदालतमा ‘जघन्य हत्या’को अभियोगमा मुद्दा दायर भएको छ । बबी पक्राउ पर्दा रगतकै दाग लागेका कपडाहरु नै लगाएको बताइएको छ । मुनाको अपार्टमेन्टमा प्रवेश गर्दा उनी जुन कपडामा थिए पक्राउ पर्दा पनि त्यही कपडामै रहेको जनाइएको छ ।

टेक्सासमा जघन्य हत्या अदालतले पुष्टि गरेमा मृत्युदण्डसम्म हुन सक्ने कानुनी व्यवस्था रहेको छ । अमेरिका पुगेका बबीले दुवईमा पनि व्यापार व्यवसाय गर्दै आएको बताइए पनि पुष्टि भने हुन सकेको छैन ।

“उनी ३० वर्षअघि नै यहाँबाट अमेरिका गएपछि निकै कम आउने गरेका थिए, बीचमा उनका बुबाको मृत्यु भएको बेला आमा नेपाल आएकी थिइन् । उनीहरु आएको बारे हामीलाई जानकारी भएन । आमाले त्यसपछि नेपालमा रहेको सबै सम्पत्ति बेचबिखन गरेर अमेरिका गएको जानकारी हामीलाई छ,” बबीलाई सानैदेखि चिनेका एक नजिकका व्यक्ति बताउँछन् ।

बबीभन्दा पहिला अमेरिका आफ्ना दाइ अमित पुगेको उनको भनाइ छ । तर अहिले नेपालमा उनीहरुका नजिकका आफन्त भने नरहेको हरपाल बताउँछन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्