site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब शिक्षा, श्रम र व्यवसायलाई जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा, श्रम र व्यवसायलाई सँगै अगाडि बढाउनुपर्ने बताएकी छन् । बिहीबार नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पाठ्यक्रमलाई पनि संशोधन गर्नुपर्ने बताइन् । “हिजोसम्म शिक्षा एक तिर, श्रम एकतिर र व्यवसाय एकतिर भन्ने सोच थियो, आज यी तीनवटै क्षेत्रलाई जोड्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम भएको छ," उनले भनिन्, “त्यसको लागि  म  सम्पूर्ण  निजी क्षेत्रहरूलाई धन्यवाद दिन चाहन्छु । हामीले ४५ सालमा सीटीईभीटी स्थापना गर्‍यौँ ।  हामी आज ८१ सालमा आइसक्दा पनि त्यहि ४५ सालकै नीतिहरूमा आधारित छौँ र यसलाई संसोधन गरेका छैनौँ । हामीले कम्तिमा सीटीईभीटीको पाठ्यक्रम र पुनर्संरचनाका केही धारणा बनायौँ भने ऐनमा पनी सुझाव दिन सकिन्छ ।”

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सिपको ठूलो अभाव रहेको बताए । उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको भन्दै उनले दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा जोड दिए । उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम महत्त्वपूर्ण रहेको उनले बताए ।

यसैगरी, सीटीईभीटीका सदस्य–सचिव महेश भट्टराई, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सिपयुक्त जनशक्ति बनाउन नेपाली युवाहरूलाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

सेमिनारमा दुईवटा प्राविधिक सत्रहरू राखिएको थियो । पहिलो सत्रमा टी–भेट कार्यक्रमहरूमा संलग्नताका लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायहरूको खोजीका सन्दर्भमा छलफल गरिएको थियो । उक्त सत्रमा नेपालमा ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगहरूलाई औद्योगिक प्रशिक्षणका फाइदाहरूका बारेमा गरिएको अध्ययनका नतिजाहरू र सीटीईभीटीमा नीतिगत अभावसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । यी विषयहरूमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिहरूबीच छलफल गरिएको थियो ।

दोस्रो सत्रमा टी–भेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिकाअन्तर्गत विद्यमान अभ्यासहरूका साथै सुधारका आवश्यकताहरूको बारेमा छलफल गरिएको थियो । नेपालमा टी–भेट स्कुलहरूको अवस्था र उद्योगहरूले नेतृत्व गरेको क्षेत्रगत सिप समितिहरूले रोजगारदाताका आवश्यकता र उत्पादनबीचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतिपछि क्षेत्रगत सिप समिति, सीटीईभीटी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित प्यानलमा छलफल भयो ।

कार्यक्रममा होटेल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रिडिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीबीच सिप प्रतिष्पर्धासमेत आयोजना गरिएको थियो । प्रतिष्पर्धामा सहभागी प्रशिक्षार्थीहरूले सवारी साधन मर्मत र खाना पकाउने कला प्रदर्शन गरेका थिए ।

कार्यक्रममा पन्चकन्या ग्रुप प्रालि, नेपाल इकरात इन्जीनियरिङ प्रालि, अरिहान्त मल्टी फाइबर्स लि., सी.जी. मोटो कर्पोरेसन, र एयरपोर्ट होटेल अप्रेन्टिससिप च्याम्पियन अवार्डबाट सम्मानित भए । औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममा संलग्न भई विपन्न वर्गका युवा तथा महिलालाई प्राथमिकता दिई आफ्नो उद्योगमा धेरै संख्यामा प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको लागि स्थान दिई कार्यक्रमलाई सक्रियरूपमा सहयोग गर्ने उद्योगहरूलाई सम्मानस्वरूप पुरस्कृत गरिएको हो । 

यसका साथै सिप प्रतिस्पर्धाका विजयी प्रशिक्षार्थीहरू वसन्तकुमार चौधारी, रबिना राई र रश्मि मुखियालाई पुरस्कृत गरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ००:०५
प्रतिक्रिया दिनुहोस्