site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विकास र समृद्धिका लागि धेरै होइन बलिया दलको खाँचो : शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती भएको बताएका छन् । समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति भएकोमा असन्तुष्टि राख्न नहुने बताए । 

“नागरिक र राज्य जोडिएकै छैन । नागरिक र राज्य नजोडिइ लोकतन्त्र सफल हुन सक्दैन,” पोखरेलले भने । 

प्रकाशको छेउमा पुतली झुम्मिएजस्तो अराजकतातिर मानिसहरू झुमिन थालेको उनको भनाइ छ । उनले माओवादीका उपमहासचिव शक्ति बस्नेतलाई जवाफ दिँदै समावेशितासँग आफूहरूको लगाव भएको बताए । “जनतासँग राज्य र जनतालाई अपरिहार्य रूपमा जोड्नुपर्दछ । समावेशिताप्रति हाम्रो गहिरो लगाव छ,” उनले भने । 

महासचिव पोखरेलले प्रतिनिधिसभाभित्रै असमानता रहेको बताए । प्रत्यक्ष जितेकाले ‘क’ र समानुपातिकबाट आएका ‘ख’ वर्गको जस्तो असमान व्यवहार हुने गरेको सुनाए । त्यस्तो असमानता हुनुुहुँदैन भन्ने पक्षमा कांग्रेस–एमाले रहेको पोखरेलले बताए । 

उनले नेपालको राजनीतिलाई विकास र संवृद्धिमा लैजान धेरै दलहरू हुन नहुने बताए । “निरंकुशता, तानाशाहीविरुद्ध संघर्ष गर्दा धेरै दल मिल्दा पनि निसाना एउटै हुन्थ्यो, निरंकुशताको अन्त्य । तर, विकास र समृद्धिको प्रश्न आउँछ धेरै दलहरु होइन । बलिया राजनीतिक दलको खाँचो पर्छ,” पोखरेलले भने । उनले विश्वमा प्रगति भिजन, बलिया राजनीतिक दल, राजनीतिक स्थिरता भएको बेलाम नै भएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्