site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कोसीको आचारसंहिता : नेतृत्वविरुद्ध बोल्न नहुने !

काठमाडौं । नेकपा एमाले कोसी प्रदेश कमिटीले फरक विचार राख्नेविरुद्ध कारबाहीको डन्डा चलाउने चेतावनीसहितको १३ बुँदे आचारसंहिता जारी गरेको छ । प्रदेश कमिटीका तर्फबाट सोमबार जारी आचारसंहितामा नेतृत्वविरुद्ध बोल्न समेत प्रतिबन्ध लगाइएको छ । 

पार्टी केन्द्रबाट जारी १०औँ अन्तरपार्टी निर्देशन ‘अपानि’का आधारमा जारी भएको १३ बुँदे आचारसंहितामा नेतृत्वको आह्वान बेगर भेला र बैठक राख्न पनि प्रतिबन्ध भनिएको छ । “पार्टीको नीति विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनै पनि कार्य गर्न नहुने,” आचारसंहितामा भनिएको छ, “गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरू गर्ने काम गर्न नहुने ।” 

पार्टीभित्र फरक मतलाई निषेध भएको भनेर विरोध भइरहँदा पार्टीले जारी गरेको आचारसंहितामा कसैप्रति पनि निषेध गर्न नहुने भनिएको छ । आचारसंहिताको चौथो बुँदामा भनिएको छ, “पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने ।” 

पार्टीका नेताविरुद्ध बोल्न, सामाजिक सञ्जालमा लेख्न र पार्टीका आन्तरिक विषयमा मिडियामा बोल्न प्रतिबन्ध लगाइएको आचारसंहितामा नेताकोमा गएर अर्का नेताको विषयमा छलफल गर्नसमेत प्रतिबन्ध लगाइएको छ । “फेसबुक वा सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इंगित गरी लेख्न नहुने । गोपनीयता भंग गरी अनाधिकृत रूपमा मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न नहुने,” आचारसंहितामा भनिएको छ, “ठाउँ कुठाउँ पार्टी नेता र कार्यकर्तालक्षित वा इंगित बोल्न नहुने । कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती गर्न नहुने ।” 

प्रदेश कमिटीका उपसचिव देवान राईका अनुसार पार्टी केन्द्रको दशौँ अपानिका आधारमा प्रदेशमा आचारसंहिता जारी भएको हो । उनले पार्टीलाई अनुशासनमा राख्न उक्त आचारसंहिता जारी गर्नुपरेको बताए । “पार्टी सुदृढीकरण अभियानअन्तर्गत पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार जारी भएको दशौँ अपानिका आधारमा भूगोल सुहाउँदो आचारसंहिता जारी गरेका हौँ,” उपसचिव राईले बाह्रखरीसँग भने । 

पार्टीको संस्थापनइतर समूहले भने नीतिगत रूपमा आचारसंहिता जारी गर्ने र कार्यान्वयन गर्ने अधिकार प्रदेश कमिटीलाई भएको भन्दै जारी हुनुको नियतमा अहिले नै प्रश्न नउठाउने जनाएको छ । उसले कार्यान्वयनका क्रममा नियतमा प्रश्न उठे आचारसंहिता र कमिटी दुवैमाथि एकसाथ प्रश्न उठ्ने बताएकोे छ । 

यस्तो छ १३ बुँदे आचारसंहिता

१. पार्टीको नीति विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनै पनि कार्य गर्न नहुने । 

२. गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरू गर्ने काम गर्न नहुने । 

३. पार्टी नीति, नेतृत्व र निर्णयविरुद्ध बोल्न र कार्य गर्न नहुने । 

४. पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने । 

५. पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने । 

६. फेसबुक वा सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इंगित गरी लेख्न नहुने । गोपनीयता भंग गरी अनाधिकृत रूपमा मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न नहुने । 

७. ठाउँ कुठाउँ पार्टी नेता र कार्यकर्तालक्षित वा इंगित बोल्न नहुने । 

८. कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती गर्न नहुने ।

९. कुनै पनि अन्तर्विरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई विवादमा मुछ्न वा विभाजित गर्ने कार्य गर्न नहुने । 

१०. व्यक्तिगत स्वार्थ र महत्तवकांक्षा पूरा गर्ने माध्यमको रूपमा नेता वा कार्यकर्तालाई प्रयोग गर्न नहुने । 

११. आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने । 

१२. जनताले उचित नठान्ने, प्रचलित कानुन प्रतिकूल सामाजिक, नैतिक दृष्टिले अनुचित र अपारदर्शी काम गर्न नहुने । 

१३. कुनै पनि नेता कार्यकर्ता वा सदस्यले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीमा रहँदा आफू रहेको कमिटीको निर्णयहरूको जानकारी गराउने, सिर्जनात्मक ढंगले लागु गराउने, सहजकर्ता, प्रशिक्षक र समन्वयकर्ताको रूपमा र सांगठनिक मामिलामा गाँठो फुकाउने अभिभावकको भूमिकाको काममाबाहेक अन्य काममा अनावश्यक चासो, संलग्नता वा हस्तक्षेप गर्ने कार्य गर्न नहुने ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्