site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कैलाश यात्रा र प्राण वायु

डा. दीपकप्रसाद बास्तोला 


प्राण वायु तिम्रो महत्त्व बुझ्न म कैलाश पुग्नुपर्‍यो 
कैयौँ वसन्तहरू पार गरिसक्दा पनि 
मेरो शरीरमा तिम्रो अस्तित्व बुझ्न म कैलाश पुग्नुपर्‍यो ।

किताबी ज्ञानले मात्र नहुने रहेछ यहाँ 
तिमीलाई त प्रत्यक्ष अनुभव गर्न म कैलाश पुग्नुपर्‍यो ।

समुद्री सतहमा एक र उँचाइमा एक 
तिम्रो दुई भिन्न रूपले अचम्मित बनायो 
आकाश जमिनको फरक भनाइको अर्थ 
थाहा पाउन म कैलाश पुग्नुपर्‍यो ।

कैलाशको दर्शन मेरो दृढ संकल्प
प्राण वायु तिम्रो कमीले म डगमगाइनँ
भगवान्को साथ हुँदा तिम्रो अस्तित्व शरीरमा ६० प्रतिशत भए पनि 
जीवन चल्ने रहेछ भन्ने अनुभव गर्न म कैलाश पुग्नुपर्‍यो ।

आकाशमा उडान भर्दा या जमिनमा गुड्दा
जल होस् या जंगलमा फिर्दा 
पहाडको उँचाइ, हिमालको काख, तराईको समथर मैदान
जतासुकै तिमी छाया बनी साथ रहँदा तिम्रो ख्याल गरिनँ मैले
तर, प्राण वायु तिम्रो बहुमूल्य साथको अनुभव गर्न त म कैलाश पुग्नुपर्‍यो ।

दुःख र सुखमा ईश्वरीय शक्ति हुने रहेछ 
दुःखले नै सुखको अनुभूति हुने रहेछ भन्ने थाहा पाउन 
म आफैँ भोलेबाबाको काख कैलाश पुग्नुपर्‍यो ।

परिवार, सहयात्री र भौतिक सुविधाहरूको साथले मात्र नहुने रहेछ यहाँ 
मात्र प्राण वायुको उपस्थितिले जीवन सम्भव छ भन्ने अनुभव गर्न 
म कैलाश पुग्नुपर्‍यो ।

जीवन, जगत्, दुःखसुख त एउटा भ्रम मात्र रहेछ
ईश्वर नै प्राण वायुका रूपमा हाम्रो शरीरमा समाहित छन् भनि बुझ्न 
म कैलाश पुग्नुपर्‍यो ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्