site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिबिफिनले अर्थमन्त्रीलाई भन्यो– बैंकिङ लगानीकर्ता निराश भए

काठमाडौंबैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको नेतृत्वको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भट गरी बैंकिङ क्षेत्रका समस्याका बारे जानकारी गराएको छ ।

मंगलबार भएको भेटघाटमा समसामयिक विषयहरूमा छलफल गर्दै अध्यक्ष पौडेलले प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानका कारण बैंकिङ लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीहरू समेत पलायन हुने क्रम बढेको बताए ।

परिसंघको तर्फबाट मन्त्री पौडेललाई बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष पौडेलले लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाहरूको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरूपमा वृद्धि भएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।

त्यस्तै, पुँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नर्तिन गरिएका दुरुत्साहनका कार्यहरू निरुत्साहित हुन नसकेको पनि अध्यक्ष पौडेलले बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी/नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधारस्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

पुँजी निर्माण एवं परिचालन, लगानी विस्तार, रोजगारी, सामाजिक रूपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको यस क्षेत्रले कमाउनै हुँदैन भन्ने निहित स्वार्थ समूहको सोच र सोही प्रकारका नीतिगत व्यवस्थाले आज बैंक तथा वित्तीय संस्थाहरूको मुनाफा ऋणात्मक भएको उनको भनाइ छ । यही कारणले लाखौँ लगानीकर्ताहरूको जीवन गुजारामा मात्र असर नपुगी स्वयं सरकारको राजस्व लक्ष्यमा समेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन विशेष आग्रह गरे ।

त्यसैगरी परिसंघका कार्यकारी सदस्य लिला प्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने सञ्चालकहरूलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयवित बनेको उल्लेख गरे ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त शुभकामना र सृदृढ एवं आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा जनाएको सहकार्यको प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गरे ।

सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीहरूको समाधान र अपेक्षाहरूको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने जानकारी गराए ।

सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानि हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू सरकारलाई क्षम्य नहुने बताए ।

उनले अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधानहरू सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने बताए ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्