site stats
बाह्रखरी :: Baahrakhari
देश
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
प्रतीकात्मक तस्बिर ।

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८, टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ । आइतबार बिहान कालीकोट–जुम्लाखण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए । “कर्णाली राजमार्गमा बर्सातका समयमा पहिरोको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटकपटक सूचना जारी गरिरहेका छौँ,” उनले भने, “आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालन भइरहेको छ ।”

Argakhachi Cement Island Ad

सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेको छ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–गमगडीका विभिन्न खण्डमा सडक अवरुद्ध हुने गरेकाले अवस्था बुझेर यात्रा गर्न डिभिजन कार्यालयले आग्रह गरेको हो ।

कर्णाली राजमार्गअन्तर्गत दैखोला–कालीकोट हुँदै नाग्मसम्म र नाग्म–गमगढी सडकका विभिन्न खण्ड पहिरोको उच्च जोखिममा छन् । रासस

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्