site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित, भोलि ११ बजे बस्ने
फाइल तस्बिर ।

काठमाडौं । कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । एक घण्टाभन्दा बढी सयम ढिलो गरी सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित कुनै पनि मन्त्री उपस्थित भएनन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुनै मन्त्री उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।

“प्रधानमन्त्रीले विश्वासको मत लिएर विश्वास देखाउन चाहेको थाहा छ । भोलिका लागि समय मागेको जानकारी भयो । संविधान पालन गर्ने मन्त्री, प्रधानमन्त्रीले संसद् चलेको दिन मन्त्रीहरू उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन ? कोही पनि उपस्थित नभएको सदन चल्छ कि चल्दैन ?” उनले भने । 

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको व्यवस्थाबारे जानकारी गराए । उनले कार्यसूचीमा रहेको आदिवासी जनजाति आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७९/०८० पेस गर्ने कार्यसूची हटाएर बैठक स्थगित गरे ।

प्रतिनिधिसभा बैठक सुरु हुँदा मन्त्रिपरिषद्को बैठक बसिरहेकाे थियाे ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । भोलिको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्