site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीमा सहमतिको प्रयास : नेपाल र भुसाल छलफलमा 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा सर्वसहमतिको प्रयास जारी छ । महाधिवेशन प्रतिनिधिहरूले मिलेर अघि बढ्न जोड दिएपछि नेताहरू सहमतिको प्रयासमा जुटेका हुन् । 

हाल अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच छलफल भइरहेको छ । अध्यक्षमा दाबी गरिरहेका भुसाललाई महासचिवमा नै दोहोेरिन नेपालले प्रस्ताव राखेका छन् ।  भुसालले अध्यक्षको दाबीबाट पछि हट्ने संकेत गरिसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । तर, भुसालले पार्टीमा तेस्रो वरीयता खोजेका छन् । उनले अध्यक्ष र सम्मानित नेतापछिको वरीयता चाहेको उनी निकटहरू बताउँछन् । 

महाधिवेशनस्थल कमलादीनजिकै उनीहरू छलफलमा जुटेका हुन् । पार्टीका सचिव जीवनराम श्रेष्ठले सहमतिका लागि प्रयास भइरहेको बताए । “सहमतिका लागि प्रयास भइरहेकै छ । सहमति कसरी गर्ने भन्नेमा अहिले छलफल जारी छ । आज बेलुकासम्ममा केही निचोड निस्केला,” उनले भने । 

असार १६ गते उद्घाटन गरिएको महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । 

मतदाता नामावली सच्याउँदै निर्वाचन समिति 

माधव पौडेल प्रमुख रहेको निर्वाचन समितिले प्रक्रिया अघि बढाएको छ । समितिले बिहीबार मतदाता नामावली प्रकाशन गरिसकेको छ । मतदाता नामावलीमा परेका उजुरीहरूको अध्ययन भइरहेको पौडेलले बताए । “प्रकाशित मतदाता नामावलीमा सच्याउनुपर्ने कुरा आएको छ । हामी सच्याउन लागिरहेका छौँ । त्यसपछि अरु निर्वाचन कार्यक्रम अघि बढाउछौँ,” उनले भने । 

अहिलेसम्म निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छैन । आज सक्ने भनिएको एकीकृत समाजवादीको महाधिवेशन लम्बिने निश्चित भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्