
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सम्मेलनमा अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरिएको बताएका छन् ।
स्वीट्जरल्यान्डको जेनेभामा भएको ७८औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार काठमाडौं फर्किएपछि त्रिभुवन विमानस्थलमा उनले पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएका हुन् ।
आगामी वर्ष नेपालमा जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरेको मन्त्री पौडेलले बताए । जलवायु स्वास्थ्य सम्मेलनको प्रस्तावलाई विश्व स्वास्थ्य संगठनले सकारात्मक रूपमा लिएको उनले उल्लेख गरे ।
सम्मेलनका क्रममा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी गराएका थिए । नेपाल हिमालय क्षेत्र भएकाले मानवस्वास्थ्यमा देखिने समस्याका प्रकृति केही फरक रहेको उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन विश्व स्वास्थ्य संगठनको समर्थनमा अघि बढ्ने उनले धारणा राखे । उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको सुधारका कार्यलाई अन्य राष्ट्रले सकारात्मक ढंगले बुझेको जिकिर गरे ।
त्यस्तै, मन्त्री पौडेलले स्वास्थ्यलाई प्रतिकूल असर गर्ने वस्तुमा कर लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव आएको बताए । आगामी बजेटमा समेत उक्त वस्तुहरूमा अधिक कर लगाउनुपर्ने प्रस्ताव आफूले अर्थ मन्त्रालयमा गरेको उनले जानकारी दिए ।
नेपालका तर्फबाट सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा आफूले जोड दिएको मन्त्री पौडेलले जानकारी दिए ।