site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभर भोलिदेखि तीन दिन वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो ।

महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा, कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

Monsoon-1719497980.png
 

महाशाखाले शुक्रबारदेखि आइतबारसम्म तीन दिन मेघगर्जन/चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बुलेनटिमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्