site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया

काठमाडौं । नेकपा (एमाले)की सांसद सम्झना थपलियाले सिरहालगायत तराई/मधेसका जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विगत तीन महिनाभित्र श्रृंखलाबद्ध रूपमा भएको चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन् । 

गाउँ गाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरूमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् । नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । 

उनले भनिन्, "सिरहालगायत तराई/मधेसका अन्य जिल्लामा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ । विगत तीन महिनाभित्र श्रृंखलाबद्ध रूपमा भएको चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ ।"

सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरिन् ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्