site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । 

यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए । 

उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताए । महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल संख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । 


तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । त्यसैले यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताए । रासस


 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्