site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीभित्र विचारमा कुनै मतभेद छैन : माधवकुमार नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । 

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे । 

उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए । 

पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठनिक लगायतका दस्तावेजहरूको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए । 

"अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौँ । त्यतिखेरै हामीले घोषणा पत्र जारी गर्दाखेरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौँ । पार्टीमा विभिन्न पक्षहरुबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौँ," उनले भने । 

अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरूले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्