site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केसलिया करिडोरको बजेट नकाट्न कांग्रेसको माग

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले प्रदेश राजधानीलाई बाढीजन्य विपद्बाट जोगाउने उद्देश्यसहित सुरु भएको केसलिया करिडोरलाई बजेट सुनिश्चित गर्न माग गरेको छ ।

कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईंले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी संघीय बजेटमार्फत समेत विराटनगरका विकासका मुद्दा सम्बोधन नभएको भन्दै कोसी प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Argakhachi Cement Island Ad

नेपाली राजनीतिको केन्द्रविन्दुका रूपमा परिचित विराटनगर भौतिक रूपमा निकै पछाडि पारिएको भन्दै चापागाईंले मुलुक संघीयतामा गएसँगै कोसी प्रदेशको राजधानीका रूपमा रहेको विराटनगर संघ तथा प्रदेश सरकारको उपेक्षामा रहेको जनाएका छन् । “केही समयअघि संघीय सरकारले प्रस्तुत गरेको बजेटले समेत विराटनगरलाई अपेक्षित रूपमा सम्बोधन गरेको देखिएन । देशमा प्रजातन्त्र स्थापनाका लागि सदैव आफूलाई अग्रपंक्तिमा उभ्याएको विराटनगरलाई उपेक्षा गर्नु आफैँमा राजनितिक बेइमानी हो,” विज्ञप्तिमा भनिएको छ ।

शनिबार कोसी प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छ । विराटनगरमा नै रहेको प्रदेशसभावाट बजेट आइरहँदा विटनगरलाई कति सम्बोधन भयो भन्ने कुरा महत्त्वपूर्ण हुने चापागाईंले जनाएका छन् । बजेट सदनमा आउनुअघि नै यो भन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरू समेत बन्द हुने भन्ने चर्चा बाहिर आएकोले महत्त्वपूर्ण परियोजनाको बजेट कटौती नगर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

अघिल्लो सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउने तयारी गरेको केसलिया करिडोर योजना कटौती नगर्न भन्दै सभापति चापागाईंले “लामो सययदेखि छलफल वहस मात्र हैन डीपीआर समेत तयार भई निर्माणका क्रममा अघि बढदै गरेको” योजना कटौती भए विराटनगरबासीलाई सह्य नहुने उल्लेख गरेका छन् ।

विराटनगरको पश्चिममा अवस्थित केसलिया नदीमा करिडोरसहित बाढी नियन्त्रण गर्न केदार कार्की नेतृत्वको सरकारले यसलाई प्रदेश गौरवको आयोजनाको रूपमा अघि बढाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्