site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करी प्रकरण– अनुसन्धानकै क्रममा एक आरोपीको शंकास्पद मृत्यु, थप नौ जना पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका थप नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई तीन साताअघि नै पक्राउ गरेर अनुसन्धान जारी राखेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भनाइ छ ।

त्यसरी पक्राउ पर्नेमा काभ्रे तेमालका कान्छामान लामा उर्फ (थर्कमान) सहित नौजना छन् । अन्य केही सुन व्यवसायी समेत रहेको सीआईबी स्रोतको भनाइ छ । लामा नेपाली कांगे्रस काभ्रेका जिल्ला सदस्य समेत हुन् ।

सीआईबीले ६० किलो सुन तस्करीको अनुसन्धान गर्न छुट्टै टिम खडा गरेर गोप्य रुपमा अनुसन्धान जारी राखेको छ ।  हालसम्म पक्राउ परेका अन्य व्यक्तिबारे सीआईबीले औपचारिक जानकारी गराएको छैन । 

उनीहरुबाहेक थप अन्य आरोपी भाग्ने आशंका पछि सीआईबीले अनुुसन्धान गोप्य राखेको हो ।

गत साउन २ मा सवारी साधनको ‘ब्रेक सू’मार्फत् हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । सोही घटनाको अनुसन्धान पछि सीआईबीले गरेको थियो ।

पहिलो चरणको अनुसन्धान सकेको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो । 

६० किलो बरामद भएको सुनबाट अनुसन्धान थालेको सीआईबीले सोही समूहले रेडी ट्रेड कम्पनीसहित अन्य विभिन्न डमी कम्पनी खडा गरेर ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो । पक्राउ परेकाहरुमाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको थियो ।

पक्राउ परेकाहरुमा ९ जना चिनियाँ र २० जना नेपाली थिए । 

हाल उनीहरु पुर्पक्षका लागि जेल चलान भएका छन् । तर, सीआईबीले पहिलो चरणको अनुसन्धान गर्दा त्रुटि गरेको भन्दै सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन ग¥यो ।

सोही आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको हो । 

पहिलो चरणको अनुसन्धान गर्ने सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको टिमलाई नै सीआईबीबाट हटाएर एआईजी श्यामलाल ज्ञवालीलाई अनुसन्धानको जिम्मा दिइएको छ । सुन तस्करी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीप्रसाद आचार्य नेतृत्वको टोलीले पहिलो चरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिससमेत गरेको थियो ।

यद्धपी आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठेपछि कारबाही प्रक्रिया नै रोकिएको छ ।

अनुसन्धानकै क्रममा शंकास्पद मृत्यु

सीआईबीले अनुसन्धान जारी राखेको सुन तस्करी प्रकरणको अनुसन्धानबाट थप नयाँ–नयाँ तथ्य फेला पर्दै आएका छन् । सीआईबी स्रोतका अनुसार पहिलो चरणको सुन तस्करीबारे अनुसन्धान जारी नै रहेका बेला एकजना सुन तस्करीका आरोपीले आत्महत्यासमेत गरेको दाबी छ ।

यद्धपी उनको मृत्युलाई समेत शंकास्पद रुपमा हेरिएको छ । बौद्धस्थित गोम्बु लामाले आफ्नै घरमा आत्महत्या गरेको खुलेको हो । विष सेवनबाट घाइते लामाको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको खुलेको सीआईबी स्रोतले बाह्रखरीलाई बतायो । 

उनलाई पहिलो चरणको अनुसन्धानका क्रममा सोधपुछका लागि सीआईबीमासमेत बोलाइएको पाइएको छ । तर, सोधपुछपछि छुटेका उनले विष सेवन गरेर आत्महत्या गरेको पाइएको स्रोत बताउँछ ।

पहिलो चरणको अनुसन्धान गर्ने एक अधिकारीका अनुसार त्यतिबेला लामाबारे प्रमाण नपुगेपछि सोधपुछ गरेर मात्रै छाडिएको स्वीकारे ।  तर, हालको अनुसन्धान टोलीले भने उनकोसमेत संलग्नता खुलेको दाबी गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्